काठमाडौं । देशभरीका किसानहरूलाई बाँदरले सास्ती दिन थालेपछि संघीय सरकारले सबै पालिकाहरूको साथ मागेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका तथा नगरपालिकाहरूलाई पत्र पठाउँदै गृह मन्त्रालयको निर्देशन अनुसार सहजीकरण गर्न सर्कुलर गरेको हो।
गृह मन्त्रालयले २७ गते सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक सहजीकरण गर्न भन्दै पत्र पठाएको थियो। ग्रामिण तथा पहाडी जिल्लामा बाँदरका कारण कृषकहरूले लगाएको बाली क्षति भएको भन्दै गृह मन्त्रालयले सामान्य प्रशासनलाई पत्र पठाएको थियो।
गृह मन्त्रीलाई सम्बोधन गरी निवेदन आएपछि बाँदर नियन्त्रण तथा सो सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने विषयमा स्थानीय तहलाई समन्वय र सहजीकरण गर्न भन्दै गृहले भनेको थियो । उक्त पत्रलाई आधार बनाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत दिपेश कट्टेलले देशभरीका पालिकाहरूलाई पत्र पठाएका हुन्।











