Logo
Logo

आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री


693
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दैछन् । देशको नेतृतव सम्हालेपछि बालेन शाहले पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग सामूहिक छलफल गर्न लागेका हुन् ।

आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफललाई संघीयता कार्यान्वयन र केन्द्र–प्रदेश सम्बन्धको नयाँ कडीका रूपमा हेरिएको छ । प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच हुने यो पहिलो औपचारिक संवाद विकास निर्माण र प्रशासनिक उल्झन सुल्झाउन केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा मुख्यगरी देशभर सञ्चालित विकास निर्माणका कार्यलाई कसरी तीव्रता दिने र स्रोत–साधनको न्यायोचित बाँडफाँड कसरी सुनिश्चित गर्ने भन्ने विषयमा घनीभूत छलफल हुने कार्यसूची छ । पछिल्लो समय प्रदेशहरूले भोग्दै आएका प्रशासनिक जटिलता र आर्थिक अभावका समस्या समाधानका लागि प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूको सुझाव लिनेछन् । विशेषगरी केन्द्र र प्रदेशबीचको समन्वय अभावले रोकिएका राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा अघि बढाउन साझा रणनीति तय गरिनेछ ।

देशको वर्तमान आर्थिक अवस्थालाई सुधार्न, पूर्वाधार विकासमा रहेका अवरोध हटाउन र सरकारी सेवा प्रवाहलाई जनमुखी बनाउन बैठकमा साझा समझदारी निर्माण गर्ने प्रयास हुनेछ । सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने प्रधानमन्त्री शाहको मुख्य एजेन्डालाई प्रदेश तहसम्मै कसरी एकीकृत ढंगले लैजाने भन्ने विषयमा पनि बैठकमा छलफल हुने अपेक्षा गरिएको छ ।

संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै जनतालाई प्रत्यक्ष लाभ पु¥याउने दिशामा यस बैठकलाई एउटा महत्वपूर्ण प्रस्थान विन्दुका रूपमा लिइएको छ । केन्द्र र प्रदेशबिचको दूरी घटाएर विकासका काममा एकरूपता ल्याउन यो छलफल फलदायी हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्