काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकार संविधानप्रति प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार अन्तर सरकारी वित्ति परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले सरकार संविधानप्रति प्रतिबद्ध रहेको र संविधान परिवर्तन गर्दा पनि सरकारले संविधानकै धारामा टेकेर गर्ने स्पष्ट गरेका हुन् । उनले करिब दुई तिहाइको बहुमत आएको अवस्थामा संविधानमा के के परिवर्तन गर्ने हुन् भन्ने हल्ला चलाइएको बताउँदै मन्त्री वाग्लेले सरकार संविधानप्रति प्रतिबद्ध रहेको स्पष्ट गरेको बताए ।

सरकार सेवामुखी काम गर्न प्रतिबद्ध रहेको बताउँदै मन्त्री वाग्लेले यसको सुरुवात समेत गरिसकेको बताए । उनले ठुलो जनमतसाथ आएको सरकारलाई सामान्य काम चलाऊ किसिमको काम गर्ने छुट नभएको भन्दै आफूहरूले व्यापक सुधारका काम गर्न सुरु गरेको बताए ।
उनले बजेटमार्फत दर्जनौँ ऐन खारेज र संशोधन गर्ने बताउँदै नियमन गर्ने ऐन नभएमा नयाँ ऐन ल्याउने तयारीका साथ काम गरिरहेको बताए ।
मन्त्री वाग्लेले विकासको बाधक बनेको भनिएको खरिद ऐनलाई छिटो परिवर्तन गर्ने बताउँदै अध्यादेशबाट गर्ने वा संसद्को आउँदो अधिवेशनबाटै परिवर्तन गर्ने प्रतिबद्धता जनाए ।
उनले सरकारले रुपान्तरणकारी पूर्वाधारको विकास गर्ने तयारीमा सरकार रहेको बताए । मन्त्री वाग्लेले ठुला पूर्वाधारमा निजी क्षेत्रलाई ल्याउने बताउँदै भारतले अपनाइरहेको टोल सडकको अवधारणाको सानो अंश नेपालमा ल्याउने बताए ।











