Logo
Logo

प्रहरीमा भावी नेतृत्वलाई चलखेल, उपप्रधानमन्त्रीले प्रधानमन्त्रीलाई झुक्याए, आईजिपीको अर्काे अग्निपरीक्षा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ मंसिर ।
गोप्य रुपमा मन्त्रिपरिषद्बाट नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक(एआइजी)को दरबन्दी थप भएपछि प्रहरी संगठनमा तरंग उत्पन्न भएको छ । रइमालो के छ भने प्रहरी महानिरीक्षक मात्र होइन, गृह मन्त्रालयलाई समेत थाहा नदिई यसरी महानगरीय प्रहरी कार्यालय(प्रस्तावित संघीय राजधानी प्रहरी कार्यालय)मा एआईजीको दरबन्दी थप भएको हो ।

गृह मन्त्रालयलाई समेत बाइपास गरेर कसरी एआईजीको दरबन्दी थप भयो ? यसमा भावी महानिरीक्षकका आकांक्षी प्रहरी अधिकारीको चलखेल छ । हाल महानगरीय प्रहरी कार्यालयमा कार्यरत डिआईजी विश्वराज पोखरेलले उपप्रधानमन्त्री ईश्वर पोखरेलमार्फत यस्तो चलखेल गरेका हुन् ।

उपप्रधानमन्त्री पोखरेल मन्त्रिपरिषद्को प्रशासनिक समितिका संयोजक हुन् । प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण अध्ययनका लागि सो समितिमा पुगेको थियो । त्यही बेला डिआईजी पोखरेलले चलखेल गरेको गृह मन्त्रालय स्रोत बताउँछ ।
डिआईजी पोखरेलले गत बैशाखमै बढुवा हुन शक्तिकेन्द्रबाट चर्काे दबाब दिएका थिए । तर, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कुटिल ढंगले त्यसलाई असफल बनाए । अहिले महानिरीक्षक क्षेत्रीलाई नै चुनौती दिदै दरबन्दी नै थप गरिदिएका छन् । यसले प्रहरीको चेन अफ कमाण्डमा पनि गम्भीर चुनौती खडा भएको छ ।

स्रोतका अनुसार दरबन्दी थप्ने क्रममा उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत झुक्याएका छन् । उनले एक महिनाअघि नै प्रहरीको प्रतिवेदन मुख्यसचिवलाई बुझाएका थिए । मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भएकाले करिब तीन साता त्यतीकै थन्कियो । सो प्रतिवेदन रोकिदा प्रहरीको बढुवा रोकिएको भन्दै गुनासो आएपछि बुधबारको मन्त्रिपरिषद्को बैठकबाट त्यसलाई पारित गरियो । गृह मन्त्रालयले पाँच डिआईजीको दरबन्दी मात्र थप्न प्रस्ताव गरेकोमा उनले एक एआईजी समेत घुसाएर पास गरेका हुन् । यसमा प्रधानमन्त्रीलाई समेत गलत ब्रिफिङ गरिएको स्रोत बताउँछ । अहिले एआईजी भएमा अबको आईजिपी ढुक्क हुने भएकाले यसरी नयाँ दरबन्दी नै थपेर चलखेल भएको हो ।

थपिएको पदमा डिआईजी पोखरेललाई नै बढुवा गर्ने योजनासहित यस्तो चलखेल भएको हो । तर, गृह मन्त्रालयकै अधिकारी यसमा खुशी छैनन् । यसले प्रहरीमा राजनीतिक हस्तक्षेप बढाउने र इमान्दार अधिकृतहरु निराश हुने उनीहरुको भनाई छ । ‘यसले राम्रो काम गर्दा भन्दा नेताको चाकडी गर्दा माथि पुगिन्छ भन्ने सन्देष जान्छ,’ गृहका एक उच्च अधिकारी भन्छन्,‘त्यसकारण प्रधानमन्त्रीले प्रहरीलाई ध्वस्त बनाउने काम गर्नु हुँदैन भन्ने हाम्रो विश्वास छ ।’

प्रहरी महानिरीक्षक शैलेक थापा क्षेत्रीका लागि पनि यो विषय अग्निपरीक्षा बन्ने भएको छ । संगठनमा केही सुधारको प्रयास गरेकोमा उनको प्रशंसा भइरहेको छ । तर, व्यक्तिका लागि दरबन्दी थपैर सिनियर मिचेर बढुवा गरेमा उनका सबै राम्रा काम छायाँमा पर्नेछन् । प्रहरीको प्राण भनेको सरुवा बढुवामा हुने निष्पक्षतासँग जोडिएको हुन्छ । दबाबकै भरमा उनले निर्णय गरेमा प्रहरीमा यसको दुरगामी नकारात्मक असर पर्ने निश्चित छ ।

 

प्रतिक्रिया दिनुहोस्