काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नै बाबुले नै गल्ती गरे पनि नछाड्ने बताएका छन् । बिहीबार साँझ सुरक्षा पत्रकारहरूसँगको भेटघाटका क्रममा गृहमन्त्री गुरुङले अ गल्ती गर्ने कसैलाई नछाड्ने बताएका हुन् ।

गल्ती गर्नेलाई अनुहार नहेरी कारबाहीको दायरामा ल्याउने काम भइरहेको उनले बताएका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख तथा कर्मचारीहरू खटिएर समातेको तर अदालतले छाडेकोमा उनले असन्तुष्टि पोखे ।
‘रातभर दुई आईजीपी म बसेर काम गर्यौँ । अहिले स्वाट्ट अदालतले छाडिदियो । हाम्रो दु:ख खेरे गयो’, उनले भने ,
विभिन्न कानुनका कुराहरू आउँदा रहेछन् । अहिले म यसरी काम गरेको छु आफैँ कानुन अध्ययन गर्न थालेको छु । ‘अब भोलिका दिनमा समाउँदा यो कारण, यो कानुनले छाड्न मिल्दैन भनेर कम्तीमा भन्न त पाइयोस् ।’
अहिले यही कारणले गर्दा भीआईपीमाथिको कारबाहीमा केही सुस्त जस्तो देखिए पनि गल्ती गर्नेलाई कारबाही गर्न भने नरोकिने उनले बताए । उनले भने, ‘अहिले कानुन अध्ययन गरिरहेको छु । भोलि समाउँदा अदालतले छाड्न नसक्ने गरी काम गर्न लागिएकाले भीआईपीमाथिको कारबाही सेलाए जस्तो देखिएको हो । तर गल्ती गर्नेलाई कारबाही रोकिँदैन ।’











