
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर मुद्दामा आज बहस जारी छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो । अहिले विपक्षी तर्फका वकीलले बहस गरिरहेका छन् । उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल इजलास पुगेका छ्न् ।
अहिले टी ब्रेक भएको छ । टी ब्रेकपछि शर्मा र भुसालले आफ्नो भनाइ राख्नेछन् । साढे ३ सम्म विपक्षी वकीलको बहसपछि जवाफी बहस हुनेछ । अहिलेसम्म विपक्षीतर्फबाट सेमन्त दाहाल, वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता सीताराम केसी र पूर्वन्यायाधिवक्ता दिनमणि पोखरेलले बहस गरेका छन् ।
हिजो रिट निवेदक र निर्वाचन आयोगको तर्फबाट सरकारी वकीलले बहस गरेका थिए । जवाफी बहसपछि सम्भवतः आजै आदेश आउने सम्भावना रहेको कानुन व्यवसायीले बताएका छन् । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिता दिने निर्णय निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले रिट दायर गरेको थियो ।
उक्त मुद्दा विचाराधीन रहेको अवस्थामा सभापति थापाले १५औँ महाधिवेशनको कार्यतालिका ल्याएपछि तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्को रिट दायर गरेका हुन् । हाल दुवै निवेदनलाई एकैसाथ राखेर बिहीबारदेखि सुनवाइ भइरहेको छ ।














