काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको चालू आर्थिक वर्ष (आव)को आर्थिक वृद्धिको प्रक्षेपण २.२ प्रतिशत बिन्दुले घटाएको छ । यसअघि गत अक्टोबरमा आईएमएफले नेपालले चालु आवमा ५.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण सार्वजनिक गरेको थियो ।

तर, त्यसमा उच्च अंकले कटौती गर्दै आईएमएफले यो वर्ष ३ प्रतिशत मात्रै आर्थिक वृद्धि हासिल हुने प्रक्षेपण गरेको हो ।
मध्यपूर्वमा जारी तनाव तथा गत सेप्टेम्बरमा नेपालमा भएको युवा आन्दोलनको प्रभावस्वरुप नेपालको आर्थिक वृद्धि कम हुने आईएमएफले उल्लेख गरेको छ ।
आईएमएफले आगामी आर्थिक वर्ष २०२७ को आर्थिक वृद्धिको प्रक्षेपण पनि ०.५ प्रतिशत बिन्दुले घटाउँदै ४.६ प्रतिशतमा सीमित गरेको छ ।
अहिलेको कठीन परिस्थितिमा आईएमएफ नेपाललाई सहयोग गर्न तयार रहेको एसिया प्यासिफिक विभागका उपनिर्देशक थोमल हेल्ब्लिङले बताए । बिहीवार आईएमएफको एसिया प्यासिफिक क्षेत्रीय आउटलुक सार्वजनिक कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।
मध्यपूर्वको तनावले मूल्यवृद्धिको दबाब पनि बढाउने आईएमएफले जनाएको छ ।











