काठमाडौं विराटनगरस्थित एक होटलबाट शनिवार प्रहरीले ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पर्यटक भिसामा नेपाल आएर गैरकानुनी रूपमा व्यावसायिक प्रशिक्षण सञ्चालन गरेको आरोपमा प्रहरीले उनीहरूलाई गरेको हो । पक्राउ परेकाहरूले होटलभित्र ‘लाफिङ बुद्ध’ सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको थिए ।
होटलको सभा हलमा ‘लाफिङ बुद्ध’ सम्बन्धी धार्मिक कार्यक्रम सञ्चालन भइरहेको सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो । पक्राउ पर्नेमा कार्यक्रमका मुख्य नेतृत्वकर्ता सिंगापुरका नागरिक को वी हक र लोह ली पेङसहित ६ जना विदेशी नागरिक रहेका छन् ।
उनीहरूसँगै प्रशिक्षणमा नेपाली सहयोगी निरा राजभण्डारी र १६ वर्ष मुनिका १२ जना किशोरीसहित कुल ३० जना कार्यक्रममा सहभागी भएको प्रहरीले जनाएको छ ।
पर्यटक भिसामा नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई कुनै पनि प्रकारको व्यवसाय, शिक्षण वा प्रशिक्षण दिने अनुमति हुँदैन । तर, पक्राउ परेका सिंगापुरका नागरिकले ‘लाफिङ बुद्ध’को विषयमा प्रशिक्षण दिएको प्रहरीले जनाएको छ । राहदानी र भिसा जाँच गर्दा उद्देश्य विपरीतको कार्य गरेको पाइएको हो ।
पक्राउ परेका विदेशी नागरिकलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि काठमाडौँस्थित अध्यागमन विभाग ल्याउने तयारी भइरहेको छ ।











