
काठमाडौं । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएसँगै अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने मुख्य जिम्मेवारी थापाको काँधमा आएको छ ।
सर्वोच्चको उक्त फैसलापछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले कानुनी लडाइँको अध्याय समाप्त गर्दै अदालतको निर्णय स्वीकार्ने निर्णय गरेको छ । शनिबार बसेको पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरूको बैठकपछि नेता मीनबहादुर विश्वकर्माले अदालतको फैसला शिरोधार्य गर्ने निर्णय भएको जानकारी दिए ।
नेता विश्वकर्माले भने, ‘फैसलामा हाम्रा केही असहमति र असन्तुष्टिहरू अवश्य छन्, तर स्वतन्त्र न्यायपालिकाको निर्णयलाई सम्मान गर्ने हाम्रो परम्पराअनुसार यसपटक पनि फैसला स्वीकार्ने निष्कर्षमा पुगेका छौँ ।’ उनले अब पूर्णबहादुर खड्का निवर्तमान कार्यवाहक सभापतिका रूपमा रहने स्पष्ट पारे ।
सर्वोच्चको फैसलासँगै कानुनी र वैधानिकताको विवाद टुंगिए पनि अब राजनीतिक चुनौतीहरू बाँकी रहेको नेता विश्वकर्माको भनाइ छ । उनले पार्टीभित्रको आन्तरिक एकतालाई बचाउने ‘बल’ अब सभापति थापाको कोर्टमा रहेको बताए ।
‘हिजोसम्म पार्टीको साख र एकता जोगाउने बल शेरबहादुर देउवाको खुट्टामा थियो, तर अहिले सर्वोच्चले त्यो बल गगन थापाको खुट्टामा फालिदिएको छ,’ उनले भने, ‘अब पार्टीलाई एकताबद्ध बनाउने, सबैलाई समेटेर लैजाने र कांग्रेसलाई थप बलियो बनाउने सबै जिम्मेवारी सभापति थापाको हातमा छ ।’
पार्टीको आन्तरिक कलह व्यवस्थापन गर्दै सबै पक्षलाई भावनात्मक रूपमा जोड्ने कार्यमा थापाको भूमिका निर्णायक हुने छ । विशेष महाधिवेशनबाट सभापति चुनिएका थापाले पार्टीका सबै नेता–कार्यकर्तालाई एक स्वर बनाएर अघि बढाउने वातावरण कसरी सिर्जना गर्छन्, अब त्यसैमा कांग्रेसको भविष्य निर्भर रहनेछ ।
पार्टी एकता जोगाउनकै लागि मुद्दा विचाराधीन रहेकै अवस्थामा पनि देउवा पक्षले थापा नेतृत्वको समितिको टिकटमा चुनाव लडेको स्मरण गर्दै नेता विश्वकर्माले अब थापाले पनि सोही उदारता र समन्वयकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।











