Logo
Logo

चुनाव हार्दैमा राप्रपाको भविष्य सकिँदैन : राजेन्द्र लिङ्देन


378
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव हार्दैमा कुनैपनि राजनीतिक पार्टीको भविष्य नसकिने बताएका छन् । राप्रपाभित्र पार्टी पुनर्गठनको माग चर्किरहेका बेला अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य नसकिने बताएका हुन् ।

उनले राप्रपा आफ्नो सारा गल्ती कमी कमजोरीहरू सच्याएर पुनर्गठित भएर उठ्ने बताएका छन् । महामन्त्री धवल शम्शेर राणाले एक साताभित्र महाधिवेशन मिति घोषणा गर्न अल्टिमेटम दिएका थिए भने महाधिवेशन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोजक समिति बनाउनुपर्ने बताएका थिए ।

राप्रपाभित्र फागुन २१ को निर्वाचन परिणामपछि विवाद झन् बढ्दो छ । राप्रपाले प्रत्यक्षमा १ र समानुपातिकमा ४ सिट जितेको थियो ।

उनले भनेका छन्, ‘राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ। म जस्ता असंख्यको रगत पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन ।’

साथै उनले राप्रपा फेरि उठ्ने बताएका छन् । ‘राप्रपा अभिभावकीय राजसंस्था, सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र, आर्थिक रूपले मात्र होइन प्रशासनिक दृष्टिकोणले समेत झन्झटिलो र बोझिलो प्रदेश संरचना सम्बन्धित आफ्नो अवधारणाबाट पछाडि फर्कदैन,’ उनले भनेका छन्, ‘आफ्नो सारा गल्ती कमीकमजोरीहरू सच्याएर राप्रपा पुनर्गठित भएर उठ्नेछ ।’

प्रतिक्रिया दिनुहोस्