
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले भोलि (सोमबार) दिँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी बैठक बोलाएको हो । पार्टी प्रवक्ता मनिष झाले सबै केन्द्रीय सदस्यहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन भनेका छन् । त्यसअघि आज रास्वपा सचिलायलको बैठक बस्दैछ । बैठकका लागि मुख्य ६ वटा एजेण्डा तय गरिएका छन् ।
जसमा विशेषगरी जिल्ला अधिवेशन कार्यविधि २०८३ माथि छलफल हुनुका साथै महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनका विषयमा निर्णय हुने छ । त्यस्तै, पार्टीको आर्थिक पारदर्शिता र व्यवस्थापनका लागि बैंक खाता सञ्चालन सम्बन्धमा पनि छलफल हुने कार्यसूचीमा उल्लेख छ ।
पार्टीको संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभिन्न विभागहरूमा गरिने मनोनयनका विषयमा पनि सचिवालयले निर्णय लिनेछ । रास्वपाले यसपटक नयाँ प्रयोग गर्दै ’विज्ञहरूको आह्वान’ र ’योजनाहरूको आह्वान’लाई पनि बैठकको मुख्य एजेन्डा बनाएको छ ।
यसका साथै विविधअन्तर्गत प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट, संसदीय दलका लागि आवश्यक प्राविधिक सहायता एवं लेवीका विषयमा पनि विस्तृत छलफल हुने छ ।











