
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले विभिन्न शंकास्पद गतिविधिमा नाम जोडिएपछि गृहमन्त्री सुदन गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरेको छ । प्रवक्ता विजय शाहले विज्ञप्ति जारी गरेर मन्त्री गुरुङमाथि लागेका आरोपहरुमा निष्पक्ष छानबिन हुनु पर्ने माग गरेका हुन्।
‘पदमै रहेर अनुसन्धान गर्न गाह्रो हुन्छ र न्याय प्रक्रियामै समस्या आउँछ,’ मुभमेन्टले भनेको छ, ‘मन्त्री कसलाई बनाउने भन्ने विषय गम्भीर विषय हो, वर्तमान सरकारले परिपक्व, नेतृत्वदायी र दूरदर्शिता देखाउनै पर्छ ।’
मुभमेन्टले ७६ जनाको रगतले आएको परिवर्तनमा दोषी देखिएका, आरोप लागेकाहरु न्यायको कठघरामा आउनु पर्ने बताएको छ । उसले सरकारलाई पद, शक्ति र राजनीतिक संरक्षण कसैलाई हुन नहुने बताएको छ । गृहमन्त्री गुरुङविरुद्ध विवादास्पद व्यापारी दीपक भट्टसँग साझेदारी रहेको आरोप लागेको छ।












