Logo
Logo

नेपाल-भारतबीच अन्तरदेशीय रेलमार्ग परियोजना अघि बढाउने सहमति


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ मंसिर । भारतको जोगवनी र नेपालको विराटनगरबीचमा सञ्चालित अन्तरदेशीय रेलमार्ग परियोजना सम्पन्न गर्नका लागि तीव्र रुपमा काम अघि बढाउन नेपाल–भारतबीच सहमति भएको छ । ३७४ करोड भारतीय अनुदान सहयोगअन्तर्गत उक्त परियोजना अघि बढ्ने छ । रेलमार्ग सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलको चौथो बैठकमा दुवै पक्षबीच उक्त सहमति भएको हो ।
सीमापार जगनयर–कुर्था रेलमार्ग सञ्चालनबारे भिडियो कन्फरेन्समार्फत् कार्यदलले छलफल गरेको छ । सो छलफलमा यस सेवामा कार्यरत नेपाली कर्मचारीको क्षमता विकास गर्न तथा नेपालको आवश्यकताअनुसार कर्मचारीहरुलाई नेपाल र भारतमा प्रशिक्षण दिन संयुक्त कार्यदलका अध्यक्षद्वयले रेलवे क्षेत्रमा सहकार्य विस्तार गर्ने पनि सहमति भएको जनाइएको छ ।
दुवै पक्षले रेलवे क्षेत्रमा सहकार्यलाई सुदृढ पार्ने हेतु आपसी सहयोगलाई निरन्तरता दिन सहमत भएका छन्। संयुक्त कार्यदलको बैठकले जयनगर–बिजलापुर–बर्दिबास र जोगबनी–विराटनगरको बीचमा अघि बढिरहेका सीमापार रेलमार्ग परियोजनाहरुको समीक्षा गरेको छ । यात्रुबाहक रेलसेवा सञ्चालनका लागि भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किलोमिटर लामो रेलमार्गको प्राविधिक तयारीबारे दुवै पक्षले छलफल गरेको हो ।
तत्कालीन ब्रिटिश इन्डियाले न्यारो गेजको रुपमा निर्माण गरेको उक्त रेलमार्ग खण्डलाई ३८० करोड भारतीय लागतमा भारत सरकारले ब्रोड गेजमा स्तरोन्नति गरेको हो । उक्त रेलवे लिंकमा सेवा सञ्चालन गर्न नेपाल सरकारले भारतबाट दुईवटा रेल सेट खरिद गरिसकेको छ ।
हाल भारत सरकारले भारु २०० करोडमा निर्माण गरिरहेको कुर्थादेखि बिजलापुरसम्मको बाँकी खण्डको निर्माण सम्पन्न गर्न दुवै पक्षले आवश्यक आपसी सहयोग तथा समन्वय बारे छलफल गरेका थिए । बैठकमा नेपाली टोलीको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलले गरेका थिए । त्यस्तै भारतको तर्फबाट त्यहाँको रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा. मनोज सिंह सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्