
काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर तीनदिने नेपाल भ्रमणका क्रममा आज काठमाडौं आउँदैछन् ।
रास्वपाका बालेन शाहको नेतृत्वमा सरकार बनेपछि नेपाल आउन लागेका उनी पहिलो उच्च अधिकारी हुन् ।
काठमाडौंस्थित अमेरिकी दूतावास स्रोतका अनुसार, सहायक विदेशमन्त्री कपुर वैशाख ९ गते फर्कने कार्यक्रम छ । नेपाल भ्रमणमा रहँदा कपुरले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
अमेरिकी सहायक विदेशमन्त्रीले मंगलबार बिहान साढे नौ बजे परराष्ट्रमन्त्री खनाल र बिहान साढे १० बजे अर्थमन्त्री वाग्लेसँग सम्बन्धित मन्त्रालयमा भेटवार्ता गर्नेछन्। भेटवार्तामा एमसीसीको कार्यान्वयनलगायत नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धका विषयमा छलफल हुने बताइएको छ ।
नेपाल भ्रमणमा रहँदा अमेरिकी सहायक विदेशमन्त्रीले पाटन दरबार स्क्वायरको पनि अवलोकन गर्ने कार्यक्रम छ । दूतावास स्रोतका अनुसार, २०२५ अक्टोबरमा सहायक विदेशमन्त्री नियुक्त भएका कपुर डिसेम्बरमा नेपाल आउन लागेका थिए ।
चुनावको मिति नजिकिएका कारण भ्रमण प्रतिनिधिसभा सदस्य निर्वाचनपछि सारिएको थियो । त्यसपछि उनी आज नेपाल आउन लागेका हुन् ।











