Logo
Logo

तथ्य नबुझी हल्ला धेरै भयो : गृहमन्त्री सुधन गुरुङ


441
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडेर पछिल्ला दिनमा भइरहेको चर्चाबारे स्पष्ट पार्दै तथ्यभन्दा हल्ला बढी फैलिएको बताएका छन् । 

The current image has no alternative text. The file name is: sudan-gurung.jpg

‘पछिल्ला दिनमा मेरो नाम जोडेर विभिन्न चर्चा भइरहेका छन् । विषय अलि जटिल ढङ्गले प्रस्तुत भएकाले म यसलाई सरल भाषामा स्पष्ट पार्न चाहन्छु। स्पष्ट कुरा, हल्ला धेरै छन्, तर तथ्य के हो भन्ने बुझ्न जरुरी छ ।,’ उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।  

उनका अनुसार ‘२५ लाखको सेयर लुकाइएको’ भन्ने आरोप तथ्यपरक नभई वर्गीकरणसम्बन्धी विषय हो । धितोपत्र बजारमा कारोबार हुने सेयरअन्तर्गत २ करोड रुपैयाँभन्दा बढी लगानी सम्पत्ति विवरणमै खुला रूपमा उल्लेख गरिएको उनले जनाएका छन् । स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही समूहभित्र समेटिएको उनको भनाइ छ ।

‘२५ लाखको सेयर लुकाइएको’ भनिएको छ । वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन् । मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ । स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो । यो लुकाउने होइन, वर्गीकरणको विषय हो’ उनले लेखे ।

लुकाउने उद्देश्य भएको व्यक्तिले खुला रूपमा ठूलो रकमको सम्पत्ति नदेखाउने उनको दाबी छ । मन्त्री हुनुअघि सेयर खरिद गरिएको विषयमा उनले सेयरमा लगानी गर्नु अपराध नभएको जिकिर गरे । सबै कारोबार बैंकिङ प्रणालीमार्फत भएको उल्लेख गर्दै उनले पैसाको स्रोत, समय र गन्तव्य सबै अभिलेखमा देखिने बताएका छन् ।

लगानीको स्रोतबारे उनले २०८० भदौ २९ गतेको लिखित तमसुकअनुसार ऋण (कर्जा) मार्फत रकम जुटाइएको र सोही रकम बैंकिङ च्यानलमार्फत लगानीमा प्रयोग गरिएको स्पष्ट पारे । ‘पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैङ्क रेकर्डले प्रमाणित गर्ने विषय हो,’ उनले उल्लेख गरेका छन् ।

‘विवादित व्यक्तिसँग साझेदारी’ सम्बन्धी आरोपबारे उनले एउटै कम्पनीमा सयौँदेखि हजारौँ सेयरधनी रहने भएकाले सेयर किन्नु सबैसँग साझेदारी गर्नु सरह नहुने बताए । एउटै कम्पनीमा विभिन्न संस्था र व्यक्तिहरूको लगानी रहने तथ्यलाई आधार मान्दा सबैलाई एउटै रूपमा दोषी ठहर गर्न नसकिने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्