Logo
Logo

संकटमा सानिमा बैंकको भविष्य ?


1.9k
Shares

काठमाडौं । सानिमा बैंक लिमिटेडमा नयाँ नेतृत्वसँगै ठूलो अपेक्षा र त्यत्तिकै गम्भीर प्रश्नहरू उब्जिएका छन् । २१ वर्षे अनुभव बोकेका पवन आचार्य सीईओ बनेको केही महिनामात्रै भएको छ । विगतमा राम्रो र प्रतिष्पर्धी छवि बनेको यस बैंकको खस्कँदो वर्तमानलाई कसरी भविष्यमा पुनः उचाइमा आचार्यले अगाडि बढाउलान्् ? सबैलाई चासो छ ।

आचार्यको नेतृत्वमा बैंकको दिशा बदलिन्छ कि विगतकै कमजोरी दोहोरिन्छ भन्ने चासो बैंकभित्र र बैंकबाहिर समेत बढेको छ । बैंकको वितरणयोग्य आम्दानी घट्दै जानु र खराब कर्जा बढ्नुले उनको नेतृत्व क्षमतामाथि सीधा चुनौती खडा गरेको छ ।

माघ १२ गतेदेखि चार वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका पवन आचार्यलाई बैंकभित्रैबाट उक्लिएको अनुभवी बैंकरका रूपमा हेरिए पनि अबको यात्राले उनी सुधारका वाहक बन्छन् कि जोखिम व्यवस्थापनमा चुक्दै विगतकै प्रवृत्ति दोहोरिन्छ भन्ने मूल प्रश्न बनेको छ ।

आचार्य यसअघिका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गते सकिएसँगै नयाँ सिईओ बनेका हुन् । २०६० सालमा बैंक स्थापनादेखि नै आबद्ध रहँदै विभिन्न विभागको नेतृत्व सम्हालेका उनले संस्थागत संरचना, कर्जा मूल्याङ्कन र परियोजना लगानीमा गहिरो अनुभव बटुलेका छन् । डिजिटलाइजेसन र माइक्रो फाइनान्सिङमा दक्ष मानिएका आचार्यले अब आफ्नो प्राविधिक ज्ञानलाई व्यवहारिक परिणाममा रूपान्तरण गर्नुपर्ने दबाबमा छन् ।

बैंकको पछिल्लो वित्तीय विवरण अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा १०.५२ प्रतिशतले घट्दै १ अर्ब ६१ करोडमा सीमित छ । जसले बैंकको लाभांश क्षमतामा सीधा असर पारेको छ । अघिल्लो वर्ष १९.१४ प्रतिशत रहेको लाभांश क्षमता अहिले १६.९५ प्रतिशतमा झरेको छ ।

जोखिम सूचकहरू झन् चासोको विषय बनेका छन् । इम्पेयरमेन्ट चार्ज ७६ करोडबाट बढेर १ अर्ब ७ करोड पुगेको छ भने खराब कर्जा अनुपात ३.२२ प्रतिशतबाट बढेर ३.६३ प्रतिशतमा पुगेको छ । रिटेन्ड अर्निङ २ अर्ब १० करोडबाट घटेर १ अर्ब ६१ करोडमा खुम्चिएको छ, यद्यपि रिजर्भ भने बढेर ८ अर्ब २२ करोड पुगेको छ । यी तथ्यांकहरूले बैंकको भित्री वित्तीय स्वास्थ्यमा दबाब बढ्दै गएको संकेत गर्छन् ।

वित्तीय विवरणले देखाएको दवावपूर्ण अवस्थामा आचार्यको नेतृत्वमाथि प्रश्न मात्र होइन, ठोस चुनौती उभिएको छ । उनले बढ्दो जोखिम नियन्त्रण गर्दै बैंकलाई दिगो र सन्तुलित वृद्धितर्फ लैजान सक्लान् भन्ने प्रश्न खडा भएको छ । साथै सतही नाफाभित्र लुकेको संरचनागत कमजोरीलाई सम्बोधन गर्न नसक्दा विगतकै कमजोरी दोहोरिने हो कि भन्ने आशंका पनि सँगै उब्जिन थालेको छ ।

यतिखेर बैंकहरू चालु आवको तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गर्ने चरणमा छन् । तेस्रो त्रैमासमा पनि सानिमाको भने वित्तीय विवरण अपेक्षित गतिमा सुध्रने अवस्था नरहेको बैंकका अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्