काठमाडौं । सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय समितिलाई आधिकारिकता दिने निर्वाचन आयोग को निर्णयलाई सदर गरेसँगै कांग्रेस विभाजनको संघारमा पुगेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा सिंगापुर रहेका कारण तत्कालै कुनै निर्णय नलिएपनि इतर नेताहरुले नयाँ शक्ति–सन्तुलन र भविष्यको दिशाबारे बहस तीव्र बनाउदै नयाँ दलका लागि कसरत गरिरहेको स्रोतले बताएको छ । पार्टी विभाजनको पक्षमा शेखर कोइराला पक्ष भने तयार भइसकेको छैन ।

पूर्वपार्टी उपसभापति पूर्णबहादुर खड्काले विदेशमा रहेका देउवासँग निरन्तर छलफल गरिरहेको र त्यही अनुसार काठमाडौंमा विभिन्न बैठक र भेला गरिरहेका छन् । कांग्रेसमा अहिले तीन वटा धार स्पष्ट देखिएको छ । गगन थापा संस्थापन, देउवा–खड्का र कोइराला समूह छन् । उनीहरुले आफ्ना समूहका नेताहरुसँग बारम्बार छलफल गरिरहेका छन् । धनराज गुरुङ, कृष्ण सिटौला, प्रकाशन सिंह, विमलेन्द्र निधिहरुले पनि आफूनिकट नेता, कार्यकर्ताहरुसँग छलफल गरिरहेका छन् ।
सर्वोच्चको निर्णयले कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको कानुनी विवादलाई अन्त्य गरे पनि राजनीतिक विवाद भने यथावत छ । ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नारासहित सम्पन्न विशेष महाधिवेशनपछि भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले अपेक्षित सफलता हासिल गर्न नसकेको पृष्ठभूमिमा आएको यो फैसला पार्टीका लागि महत्वपूर्ण मोडको रूपमा हेरिएको छ । सुरुमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कानुनी फैसलालाई स्वीकार गर्ने बताएपनि यसपछि निरन्तर बैठक र भेलाहरु भैरहेका छन् ।
यद्यपि सभापति थापामाथि अब पार्टीलाई एकढिक्का बनाउँदै संगठन सुदृढ गर्ने चुनौती थपिएको छ । हार–जितबाट उत्पन्न मतभेद, गुटगत विभाजन र असन्तुष्ट कार्यकर्ताको मनोबल उठाउने जिम्मेवारी नेतृत्वका लागि प्रमुख परीक्षा बनेको छ ।
देउवा समूहका नेता प्रकाशशरण महत ले सर्वोच्चको फैसला अपेक्षित नभएको प्रतिक्रिया दिएका छन् भने, विमलेन्द्र निधिले विशेष महाधिवेशनबाट आएको नेतृत्व स्वीकार्न नसकिने बताएर देउवा–खड्का पक्षलाई साथ दिएको संकेत गरेका छन् ।
यस्तै, खड्काले अनुशासन समितिले सोधेको स्पष्टीकरणलाई ‘निरर्थक’ भन्दै अस्वीकार गरेका छन् । यी घटनाक्रमले कांग्रेसभित्रको गुटगत तनाव शान्त नभएकाले विभाजनलाई बल पुगेको संकेत गरिरहेको छ ।
कांग्रेसभित्र देखिएको आन्तरिक द्वन्द्व र नेतृत्वबीचको अविश्वास समाधान नगरे पार्टी थप कमजोर बन्ने जोखिम छ । १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला सबै पक्षलाई स्वीकार्य हुने सहमति निर्माण गर्न नसके कांग्रेसको भविष्य अझै अनिश्चित बन्न सक्ने विश्लेषण गरिएको छ ।
जेन–जी आन्दोलनका क्रममा कांग्रेसका तत्कालीन सभापति देउवा तथा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बूढानीलकण्ठस्थित निवासमै भौतिक आक्रमण र निवासमा आगजनीसमेत भएपछि कांग्रेसभित्र देउवालाई सहानुभूति समेत नराखेको भन्दै एउटा समूह यत्तिकै असन्तुष्ट बनेको थियो । आन्दोलनका क्रममा कांग्रेस मुख्यालय तोडफोड गर्नेदेखि थुप्रै नेताको निवासमा क्षति पु¥याइको बेला गगन पक्षले पार्टीको विशेष महाधिवेशन गरेर पार्टी आफ्नो हातमा लिएका थिए ।
जेन–जी आन्दोलनको निसानामा परेर कमजोर भएको कांग्रेस आन्तरिक रूपमा एकजुट हुनुपर्नेमा झनै छिन्नभिन्न हुन पुगेको छ । २१ फागुनको चुनावमा समेत कांग्रेस नेता एकजुट हुन सकेनन् । विशेष महाधिवेशनबाट पाखा पारिएका धेरैजसो नेता चुनावमा कांग्रेसको पक्षमा सक्रिय भएनन् ।
सभापति गगन थापाले असन्तुष्ट नेतालाई विश्वासमा लिने प्रयास गरेनन् भन्ने आरोप छ । अन्ततः २१ फागुनको चुनावको टिकट वितरणले समेत कांग्रेसभित्रको आन्तरिक कलहलाई मलजल ग¥यो । टिकट वितरणमा सभापति थापा नेतृत्व हाबी भएका कारण देउवा पक्षका अधिकांश नेता चुनावमा उम्मेदवार हुन पाएनन् ।
भावी प्रधानमन्त्रीका रूपमा प्रचार गरिएका सभापति थापा आफैँ सर्लाही ४ बाट पराजित भए । पार्टीभित्र लोकतान्त्रिक संस्कारका लागि सात दशकभन्दा लामो समयदेखि संघर्ष गरेको कांग्रेस पछिल्लो जेन–जी आन्दोलन र २१ फागुनको प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय राजनीतिबाटै हराउने बिन्दुमा पुगेको छ ।
कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी जम्मा ३८ सिट जितेको छ । निर्वाचनको बेलादेखि नै देउवा समूहभित्र समानान्तर गतिविधि अघि बढाउने कि नयाँ नेतृत्वसँग सहकार्य गर्ने भन्नेमा अन्योल देखिए पनि भेला र बैठकलाई निरन्तरता दिइरहेको छ ।
कांग्रेसभित्र देखिएको आन्तरिक द्वन्द्व र नेतृत्वबीचको अविश्वास समाधान नगरे पार्टी थप कमजोर बन्ने जोखिम छ । १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला सबै पक्षलाई स्वीकार्य हुने सहमति निर्माण गर्न नसके कांग्रेसको भविष्य अझै अनिश्चित बन्न सक्ने विश्लेषण गरिएको छ ।
यस अवस्थामा पार्टीलाई एकताबद्ध गर्दै सुदृढ बनाउने जिम्मेवारी मुख्यतः सभापति थापामाथि नै केन्द्रित भएको छ । अदालतको निर्णयपछि कानुनी वैधता पाएको नेतृत्वले अब राजनीतिक वैधता स्थापित गर्न सक्ने वा नसक्ने भन्ने प्रश्न नै कांग्रेसको आगामी यात्राको निर्णायक आधार बन्ने देखिन्छ ।











