Logo
Logo

ओली हटाउन अघि सरे शंकर पोखरेल


3.4k
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएलगत्तै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटलाई लिएर नेकपासँग एकताको चर्चा हल्ला मात्रै भएको बताएका छन् । ओली डिस्चार्ज भएलगत्तै आफू निकट नेताहरुसँग उनले यस्तो सन्देश दिनुको पछाडि ओलीले अझै चेतेका छैनन् भन्ने नै हो ।

एमालेभित्र ओलीलाई हटाउन विष्णु पौडेलको नेतृत्वमा पहलकदमी भइरहेको बेला नेकपासँगको एकता वा वामपन्थी एकताको चर्चा चलेको थियो । एमाले उपाध्यक्ष पौडेलले भित्रभित्रै ओलीलाई हटाउने रणनीति बनाए पनि एमालेमा नेतृत्व परिवर्तन नभएसम्म एकताको हल्लामात्रै भएको बताएका छन् ।

एमालेको नीति र नेतृत्व दुवै अस्वीकार भइसकेको भन्दै पौडेलले केही नेताहरूलाई साथमा लिएर दस्तावेज तयार पारेका छन् । तर नेतृत्वको पुनर्गठनको विषयमा सबैभन्दा बढी चासो र चिन्ता महासचिव शंकर पोखरेललाई रहेको बताइन्छ । ओलीपछिको उत्तराधिकारीको रुपमा पोखरेल आफँै नेतृत्वमा पुग्न चाहन्छन् । जुन कुरा असम्भव छ ।

एमालेमा विकल्पको खोजी भइरहँदा विद्या भण्डारीको नाम अग्रपंक्तिमा आएको थियो । तर ओली र शंकर पोखरेलले भाग खोस्न आयो भनेर विद्याको सदस्यता खारेज गरिदिएका थिए । अहिले परिस्थिति फेरिएको छ । ओली एमालेबाट मात्रै होइन, सिंगो नेपाली जनताबाट पनि बहिष्कृत भएका कारण विद्याको चर्चा फेरि चुलिएको छ । थापागाउँस्थित विद्याको सम्पर्क कार्यालयमा एमालेका पुराना नेता कार्यकर्ताहरूको भीड बढ्न थालेको छ ।

उक्त कार्यालयमा पुग्ने एमाले नेता–कार्यकर्ताहरूले विशेष महाधिवेशनमार्फत ओलीलाई बिदा गर्दै विद्यालाई स्वागत गर्ने बताइरहेका छन् । यस कुरामा ओलीले आत्मसमीक्षा गर्दै सहज वातावरण बनाइदिएको खण्डमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण सँगसँगै हुन्छ । अन्यथा, एमाले नेता–कार्यकर्ताहरूको आक्रोश थाम्न हम्मेहम्मे पर्ने बताइन्छ ।

विगतमा ओलीलाई काँध थापेकैले आफू सार्वजनिक प्रहारको निशानामा परेको, क्षति भोग्नुपरेको र राजनीतिक ‘करिअर’ नै संकटपूर्ण अवस्थामा पुगेको भन्दै आफैँ नेतृत्वमा पुग्न चाहेको हुनसक्छ । तर, शंकर पोखरेलजस्ता ‘अक्षम’ नेतालाई एमालेको नेतृत्व सुम्पन कोही पनि तयार छैनन् । उनकै कारण एमालेले यति ठूलो क्षति भोग्नुप¥यो । तर उनले त्यसको दोष ओलीमाथि थोपरेर आफू पानीमाथि ओभानो बन्न खोजेका छन् ।

नेकपासँग एकताको हँुदा होस् वा पार्टीभित्रै विष्णु पौडेलले उठाउन सक्ने कदम दुवै कदम पोखरेलका लागि घातक भएकाले रक्षात्मक अवस्थामा पुगेका महासचिव पोखरेलले ओली हटाउने नाटक गरेको आरोप पनि लगाउन थालिएको छ ।

त्यसो त विष्णु पौडेल पनि दोकला नेता भएकोले एमालेभित्र ओलीको दह्रो विकल्पको खोजी हुँदैछ । भदौ २३ गते जेनजी विद्यार्थीको हत्या अभियोग खेपिरहेका ओलीबाट अब नेतृत्व पार लाग्दैन भन्ने कुरामा कुनै विवाद छैन, तर ओलीपछि को ? भन्ने प्रश्नको उत्तर भित्रभित्रै भैरहेको अवस्थामा बहुमत एमाले नेता– कार्यकर्ताले विद्याको नाम अघि सारेको हो ।

यद्यपि, अहिलेको वस्तुस्थिति फरक भएका कारण पार्टीभित्र ओलीविरोधी मत बढिरहेको छ । अहिले ओली समूहभित्रै ओलीको विकल्प खोज्नुपर्ने मत विस्तारै उठ्न थालेको छ । प्राय पार्टी केन्द्रीय कार्यालयमै भेटिने पोखरेलले आफूलाई भेट्न आउनेहरूलाई ओलीबाट पार्टी चल्न नसक्ने तर ओलीलाई सम्मानजक विदाईको आवश्यकता रहेको बताउन थालेका छन् ।

जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा अनुसन्धानका लागि पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओली प्रहरी हिरासतमा उपचारमा रहेको बेला पार्टीभित्र सुरेन्द्र पाण्डे र उपमहासचिव योगेश भट्टराईले नेतृत्व परिवर्तनको बहस उठाएका थिए । त्यसमा विष्णु पौडेल र शंकर पोखरेल थपिएका हुन् । चुनावी धक्कापछि यही नेतृत्वको अस्तित्व जोगाउने कि नयाँ नेतृत्व खोजी गर्ने भन्नेमा एमालेभित्र ठूलो संक्रमणकालीन बहस शुरु भएको छ । अहिलेको अवस्थामा अधिकांश नेताहरु ओलीकै कारण चुनाव हारिएको हो भन्ने निकर्षमा पुगेका छन् ।

एमालेको भावी नेतृत्वमा प्रतिस्पर्धी रहेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि अब ओलीको विकल्पमा जानुपर्ने निष्कर्षमा पुगिसकेका छन् । सुरेन्द्र पाण्डे र योगेश भट्टराईहरू ओलीले पद छाड्नुपर्छ भनेर मुखर रुपमा अघि बढेका छन् । पौडेल–पोखरेल पनि ओलीबाट चल्दैन भन्ने निष्कर्षमा छन् । तर कसरी भन्नेमा यी दुवै नेता अन्यौलमा रहेको बताइन्छ ।

पछिल्लो समय माओवादी पृष्ठभूमिका नेताहरूबाहेक एमालेभित्र अधिकांश नेता ओलीले पद छाड्नुपर्ने पक्षमा छन् । उपाध्यक्ष रामबहादुर थापा भने ओलीकै निरन्तरताको पक्षमा छन् । ओली पार्टीमा एक्लिँदै गएका छन् । एमालेमा अध्यक्ष ओलीले पद नछाडे विशेष महाधिवेशनको माग गर्ने तयारी पनि भएको छ । भ्रातृसंगठनका नेताहरूले विशेष महाधिवेशनका लागि भन्दै हस्ताक्षर अभियान पनि सुरु गरिसकेका छन् ।

जेनजी आन्दोलनमा सेनाको ब्यारेकबाट फर्किएपछि ओली सबैभन्दा बढी संकटमा गुज्रिरहेका छन् । पार्टी र शासन सञ्चालनका सन्दर्भमा पटक–पटक निरंकुशतातर्फ उन्मुख ओलीको कार्यशैली, उत्तराधिकारी प्रथामा नश्लबन्दी र आजीवन नेतृत्वमा रहने सोच, शासकीय अवसर(निर्वाचनमा टिकट वितरण, मन्त्री चयन र राजनीतिक नियुक्ति आदि)का क्षेत्रमा एकल निर्णय र विना मापदण्ड निश्चित व्यक्तिलाई अवसर प्रदान गर्ने स्वेच्छाचारी प्रवृत्तिका कारण पार्टीभित्र असन्तुष्टि बढिरहेका बेला निर्वाचनले ओलीलाई झन दबाबमा राख्यो ।

ओली नेतृत्वमा आएपछि पार्टीभित्र वैचारिक कामको शून्यता, हरेक तहका नेतृत्व चयनमा संस्थापन पक्षको नांगो हस्तक्षेप, ओली नेतृत्वको हावादारी कार्यशैली, अन्य कम्युनिस्ट पार्टीप्रतिको असहिष्णु शैली, छिमेकी राष्ट्रहरूसँगको असन्तुलित परराष्ट्र नीति, शैली र सम्बन्ध, सुशासनको स्खलन र भ्रष्टाचार वृद्धिजस्ता कारणले पार्टी पंक्तिभित्र निराशा छाएको र आमजनतामा एमालेको प्रभाव खस्किँदै गएको कारण एमालेको शर्मनाक हार व्यहोरेको विषयमा ओलीबाहेक एमालेको नेतृत्व एक मत रहेको छ ।

अध्यक्ष ओलीले आफू पक्राउ पर्दै गर्दा पूर्वमाओवादी समूहका नेता तथा उपाध्यक्ष रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष र संसदीय दलको नेता बनाएपछि अन्य नेताहरु असन्तुष्ट बनेका थिए । बादललाई घेराबन्दी गर्दै संसदमा दिएको अभिव्यक्तिसमेत पार्टी बैठकबाट फिर्ता गराएका थिए । जुन घटनासँगै एमालेभित्रको गुटबन्दी थप मौलाएको थियो । जसमा सुरुदेखि नै उपाध्यक्ष पौडेलले खुलारुपमा चुनौति दिएका थिए ।

यता, नेता ईश्वर पोखरेल नेतृत्वको समूह पनि विगतदेखि नै विकल्प खोज्न घोषितरुपमै सक्रिय छ । जसमा विगतका १० भाइ भनिने नेताहरु र विद्या भण्डारी नेतृत्वको समूह पनि सँगै देखिन्छ । यद्यपि, ओलीको विकल्प खोज्न सहमत १० भाइ आफ्नै नेतृत्व निर्माण गर्न तम्सिएका देखिन्छन् भने भण्डारी समूह ओलीको विकल्प खोज्न सहमत देखिएपनि पछिल्लो समय केही मौन रहेको छ । एमालेभित्र यी सबै अवस्थालाई हेरेपछि शंकर पोखरेल आफै पनि ओलीको विकल्प खोज्न लागेका हुन् ।

पछिल्लो समय एमालेको जनमत घटेर २५ सिटमा सीमित हुनु र निर्वाचन परिणामलाई लिएर पार्टीभित्र समयमै समीक्षा हुन सकेको छैन । जेनजी आन्दोलनलाई दमन गरेको आरोपमा अध्यक्ष ओलीमाथि सरकारले कारबाही प्रक्रिया अघि बढाएपछि नेतृत्व परिवर्तनको बहस थप पेचिलो बन्दै जाँदा महासचिव पोखरेलले नेतृत्व पुर्नगठनमा पनि छलफल हुनुपर्छ भन्दै विवादलाई मत्थर पार्न खोजेका छन् ।

एमालेमा अध्यक्षपछि महासचिवको भूमिका महत्वपूर्ण भएको हुँदा शंकर पोखरेलले भित्री मनदेखि ओली हटाउन चाहेका हुन् भने ओली हट्न कुनै आइतबार कुर्नु पर्दैन भन्ने एमाले नेताहरुको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्