
काठमाडौं । कञ्चनपुरमा एक युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका–५, भानुबस्तीमा धारिलो हतियार प्रहारबाट १८ वर्षीय उज्जल सायरको हत्या भएको हो ।
गाउँकै एक विवाह कार्यक्रममा विवाद हुँदा सायरमाथि चक्कु प्रहार गरिएको कञ्चनपुरका प्रहरी प्रवक्ता हेमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार सोमबार राति साढे १ बजेतिर विवाहमा विवाद हुँदा धारिलो हतियार प्रहार गरिएको थियो ।
घाइते अवस्थामा रहेका सायरलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी शाहीले बताए ।
मृतकको छातीमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । घटनाबारे थप भइरहेको प्रहरीले जनाएको छ ।











