Logo
Logo

प्रलोपा त्यागेको सुदन किरातीको घोषणा


693
Shares

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । चैत १८ मा अध्यक्ष परिषदको सदस्यबाट राजीनामा दिएका उनले सामाजिक सञ्जालमार्फत आज पार्टीको साधारण सदस्य समेत नरहेको जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्य समेत नरहने निर्णय गरेको जानकारी गराउन चाहन्छु ।’

यो अवधिमा आफूलाई सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिएका छन् । किरातीले भनेका छन्, ‘करिब ५ महिनाको यस यात्रामा मार्गदर्शन गर्नुहुने आदरणीय नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

प्रलोपासँगको सम्बन्ध अन्त्य भएपछि नेता तथा कार्यकर्तासँगको व्यक्तिगत सम्बन्ध यथावत राख्ने जनाएका छन् । ‘यस अवधिमा प्राप्त अनुभवहरूलाई मैले अमूल्य सम्पत्तिको रूपमा आत्मसाथ गरेको छु । संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु,’ किरातीले भनेका छन् ।

प्रलोपा त्यागेपछि राजनीति भने जारी राख्ने उनले जनाएका छन् । अबको बाटो सजिलो नभए पनि जनताको सेवामा लागिराख्ने उनले वाचा गरेका छन् ।

‘जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई मुटुमा बोकेर जस्तोसुकै परिस्थिति आएपनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने वाचा गर्दछु,’ उनले लेखेका छन्, ‘मेरो लागि आगामी बाटो सजिलो नहुन सक्छ तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने छु ।’

प्रतिक्रिया दिनुहोस्