Logo
Logo

‘रातो बत्ती’मा ट्राफिक प्रहरीको छमछमी नृत्य (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ मंसिर । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम समेटिएको गीत सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा सवारी चलाउँदा ध्यान दिनुपर्ने २५ नियम समेटिएको छ ।
काठमाडौँ उपत्यकाको सवारी व्यवस्थालाई थप सुरक्षित, व्यवस्थित एवं प्रभावकारी बनाउने अभियानअन्तर्गत गीत सार्वजनिक गरिएको हो ।
महाशाखाले ट्राफिक नियम र सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राख्दै आएको छ । हालै सार्वजनिक गीतमा एलिना चौहान र सरोज ओलीले स्वर दिएका छन् । बाबुराम दाहालको रचनामा तयार भएको गीतमा जुगल डंगोलको संगीत छ । मेट्रो ट्राफिक एफएमबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियो प्रकाश भट्टको निर्देशनमा तयार भएको हो ।
गीतसंगीतका माध्यमबाट ट्राफिक नियम सिकाउँदा आम सडक प्रयोगकर्ताले सरल रुपमा सम्झिने, ग्रहण गर्ने र सजिलै पालना गर्ने हुनाले गीतमा ट्राफिक नियम समावेश गरेको महाशाखाले जनाएको छ । व्यवहारिक रुपमा प्रयोग हुने २५ वटा ट्राफिक नियम समेटिएको ट्राफिक नृत्य भिडियो रिलिज गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।
सिंहदरवार पश्चिम गेटअघि सुटिङ गरिएको भिडियोमा ट्राफिक ड्रेसमा रहेका प्रहरीले नृत्य गरेका छन् । यस गीतमा ट्राफिक संकेतको पालना गर्न, मादक पदार्थ सेवन गरि सवारी नचलाउन, हेल्मेट र सिट बेल्टको प्रयोग गर्न, लेन अनुशासनको पालना गर्न, जथाभावी ओभरटेक नगर्न, जेब्रा क्रसिङ र आकाशेपुलको प्रयोग लगायतका ट्राफिक नियम समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्