Logo
Logo

चितवन घटनाले नेकपामा झनै बढायो धुव्रीकरण, प्रधानमन्त्रीमाथि नैतिक प्रश्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ मंसिर ।
नेकपाका नेता तथा सांसद सुरेन्द्र पाण्डेमाथि चितवनमा पार्टीकै कार्यकर्ताहरुबाट भएको आक्रमण प्रयासले नेकपाभित्र झनै धुव्रीकरण बढाएको छ । पार्टी नेतृत्वमा बढेको विवादको असर तल्लो कमिटीसम्म देखिएको छ । यसले पार्टी फुटलाई झन् मलजल गरेको छ ।


आफ्नो निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रममा नेता पाण्डेमाथि युवा संघका कार्यकर्ताले आक्रमण प्रयास गरी दुव्र्यवहारको प्रयास गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेको भन्दै उनी निकट कार्यकर्ताले यस्तो दुव्र्यवहार गरेका हुन् । जसको माधव कुमार नेपाल, झलनाथ खनाल लगायतले बिज्ञप्ती निकालेरै विरोध गरेका छन् । तर, प्रधानमन्त्री ओली भने मौन । आलोचना गरेको आधारमा आक्रमण गरिएको यो घटनाले प्रधानमन्त्रीमाथि नैतिक प्रश्न समेत उठेको छ ।
२०५४ सालमा एमालेबाट माले फुट्दा यस्तै आक्रमणका घटना भएका थिए । अहिले त्यस्तै अवस्था आएको भन्दै पार्टीका नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।
पाण्डेमाथि अभद्र व्यवहार गर्नेहरूमाथि कारबाही गर्न नेता माधव कुमार नेपालले माग गरेका छन् ।
‘राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको वेला अनधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र व्यवहार तथा नाराबाजीको निन्दा एवं भर्त्सना गर्दछु,’ नेता नेपालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सभ्य, सुसंस्कृत एवं समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिस्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने र गराउने जोसुकै भए पनि छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न स्थानीय पार्टी एवं सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउँछु ।’
नेता झलनाथ खनालले कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्शविपरीत आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण गराएका हुन् ।
कार्यक्रममा आफ्ना भनाइहरू राखिरहेको अवस्थामा अनधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय रहेको भन्दै खनालले घटनाको निन्दा तथा भर्त्सना गरेका छन् ।

विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन चितवनमा रहेका पाण्डे राप्ती नगरको पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको वेला भएको सुनियोजित घटनाले गम्भीर बनाएको खनालले बताएका छन् ।

पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरू खोजी भइरहेको परिस्थितिमा भएका यस्ता घटनाले स्थितिलाई झन् उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पूर्ण नेता तथा कार्यकर्तालाई खनालले अनुरोधसमेत गरेका छन् ।
त्यस्तै पर्यटनमन्त्री योगेश भट्टराईले भनेका छन् । ‘हुलहुज्जत बहुदलिय जनवादको कोर्श होइन, बिमर्श, छलफल र फरकमतको सम्मान जबजको बिशेषता हो,’

प्रतिक्रिया दिनुहोस्