Logo
Logo

सफाइ अभियानको ४००औँ हप्ता : अझै फोहोर वाग्मती


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ मंसिर ।   वाग्मती सफाइ महाअभियान शुरु भएको ४०० हप्ता हुन लागेको छ । तर, अझै बागमती फोहोर छ । नदीमा फोहर गर्नेक्रम रोकिएको छैन ।
पशुपति क्षेत्रको गौरीघाट, शंखमूललगायत सांस्कृतिक स्थलमा फोहर जम्मा भएपनि सरोकार भएका निकाय मौन बसेको सफाइ अभियानकर्मीको गुनासो छ । अभियानकर्मीले सफा गरिरहने र फोहर फाल्नेले फालिरहने हो भने वाग्मती सधैँ प्रदूषित नै हुने छ । अभियानकर्मी चक्रबहादुर चन्द शंखमूल क्षेत्रमा फोहर बढ्न थालेको बताउँछन् । सफाइमा स्थानीय सरकारले आवश्यकता अनुसार ध्यान नदिएको अभियानकर्मीको गुनासो छ ।
पशुपति क्षेत्रको आर्यघाटबाट बगाएको बाँसका लाँक्रा तीनकुने आलोकनगरसम्म पुग्न थालेको छ । आलोकनगर सफाइ अभियानकर्मी प्रमिला पौडेल कोरोनाका कारण सफाइ अभियानमा पहिलेको भन्दा कम सहभागिता जुट्न थालेपछि फोहर बढ्न थालेको स्वीकार्छन् । फलस्वरुप नदीमा कालो पानी बग्न थालेको छ ।
वाग्मती सफाइ महाअभियानको ३९३औँ हप्तामा पशुपति र शंखमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रको सफाइ अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सम्पन्न भएको छ । पशुपति भष्मेश्वर घाट क्षेत्रमा सफाइ गरिएको उनले बताए ।
यस्तै, शंखमूल क्षेत्रमा वाग्मती मनोहरा दोभान र बुद्धनगर सत्य साइबाबा उद्यान क्षेत्रमा सफाइ गरिएको छ । यस क्षेत्रको नदी किनारका दायाँबायाँमा रहेका घर, पसल, ग्यारेज व्यवसायी लगायतलाई जनचेतनामूलक अभियानसहित फोहर टिपेर कुहिने र नकुहिनेमा वर्गीकरणका साथ व्यवस्थापन गरिएको अभियानकर्मी डा लक्ष्मी पौडेलले जानकारी दिए ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३५३औँ हप्तामा जोरपाटी क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । कोरोना महामारीका बाबजुद सफाइ अभियानमा सहभागिता बढ्न थालेको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिए ।
विष्णुमती सफाइ अभियानको ३२२औँ हप्तामा काठमाडौँ महानगरपालिका–१७ स्थित शोभाभगवती खुसीबुमा जम्मा भई छलफलसहित अर्को हप्ता शनिबारदेखि नदी स्काभेटर चलाएरै सफाइ गर्ने निर्णय भएको छ । महानगरको वडा नं १५, १६ र १७ मा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्ने निर्णय बैठकले गरेको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिए ।
मनोहरा सफाइ महाअभियानको १९२औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित कृषिबजार अघिको नदी किनारमा सफाइ गरिएको छ । सफाइबाट एक गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिनुभयो । सफाइमा करीब ५० जना अभियानकर्मीको सक्रियता थियो ।

प्रतिक्रिया दिनुहोस्