
काठमाडौं । दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वास पात्रमध्ये एक सर्जियो भारतबाट वैशाख १७ गते सिधै नेपाल आउने भएका हुन् । परराष्ट्र स्रोतका अनुसार उनी नेपालमा चार दिन बस्ने छन् ।
राजदूत सर्जियोको नेपाल भ्रमणका सन्दर्भमा भारतस्थित नेपाली दूतावासका उपप्रमुख डा.सुरेन्द्र थापाले भारतस्थित अमेरिकी दूतावासका उपप्रमुख जेसन मिकसँग भेट गरेका छन् । दुई जनाबीचको भेटमा राजदूत सर्जियाको नेपाल भ्रमणका विषयमा कुराकानी भएको भारतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।
नेपाल भ्रमणका क्रममा गोरले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेटघाट गर्ने बताइएको छ । स्रोतका अनुसार सर्जियोले बालेनसँग जेठ १ गते भेट्ने कार्यतालिका छ । तर प्रधानमन्त्री कार्यालयले भने हालसम्म भेट हुने नहुने कुरा निश्चित गरेको छैन ।
केही दिनअघि नेपाल भ्रमणमा आएका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेश मन्त्री एस.पावल कपुरले पनि प्रधानमन्त्री बालेनसँग भेट्ने सोच बनाएका थिए । तर प्रधानमन्त्री कार्यालयबाट नै समय उपलब्ध नगराएपछि भेट नभएको बताइएको छ । यद्यपि, ओहदामा कपुरभन्दा माथि भएका कारण सर्जियोसँग बालेनको भेटघाट हुने सम्भावना रहेको बताइएको छ । सहायक विदेश मन्त्री कपुर वैशाख ७ गते नेपाल आएर ९ गते फर्केका हुन् ।











