काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले बढेको छ ।
आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १.५४ अङ्कले बढेको हो । नेप्से २७८८ अङ्कको विन्दुमा पुगेको छ । अघिल्ला चार कारोबार दिन लगातार घटेको बजार आज झिनो अङ्कले बढेको हो ।

आज कारोबार रकम सामान्य बढेको छ । हिजो ५ अर्ब ९ करोडको कारोबार भएकोमा आज ५ अर्ब २७ करोडको भयो ।
८७ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने १४ को स्थिर रह्यो । बैङ्किङ ०.२२, विकास बैङ्क ०.२२, होटल तथा पर्यटन ०.३२, हाइड्रोपावर ०.२५, उत्पादन तथा प्रशोधन ०.६६ तथा व्यापार ०.५८ प्रतिशत बढे ।
अन्य समूह सबैभन्दा धेरै १.०२ प्रतिशत घट्यो । त्यस्तै निर्जीवन बीमा ०.०६, माइक्रोफाइनान्स ०.३५, जीवन बीमा ०.२६, लगानी ०.०२ तथा फाइनान्स ०.६२ प्रतिशतले घटेको छ ।
तीन कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । १५ प्रतिशत मूल्य बढेका कम्पनीमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, शिखर पावर र माइखोला हाइड्रोपावर छन् । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैङ्कको १२.६२ तथा श्रीनगर एग्रिटेकको ४.९१ प्रतिशत मूल्य बढ्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, सोलु हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनी छन् ।











