Logo
Logo

सशस्त्रमा को बन्ला आइजीपी ?


3k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) राजु अर्याल चारवर्षे कार्यकाल सिध्याएर यही वैशाख १८ गते अवकाशमा जाँदा संगठनमा नयाँ आइजीपीमा दुई एआइजीको प्रतिस्पर्धा रहेको छ । उनको अवकाशसँगै सशस्त्रमा दुई एआइजीमध्ये एकले संगठनको कमान्ड सम्हाल्ने छन् । सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) द्वय नारायणप्रसाद पौडेल र वंशी दाहाल नयाँ नयाँ एआइजीका दाबेदार भएकाले दुवै प्रतिस्पर्धामा छन् । सशस्त्रको एआइजीमा पौडेल सिनियर रहेका छन् ।

अर्धसैन्य संरचनाको फौज भएकाले सशस्त्रमा राजनीतिक लबिइङ पनि कम हुने भएकाले वरीयता, वरिष्ठता र कार्यक्षमतामा योग्य अधिकारीको बढुवा हुने अपेक्षा गरिएको छ । वर्तमान आइजिपी अर्याल चार वर्षको कार्यकाल सम्पन्न गरी अवकाश हुन लागेका बेला आइजिपीका दुई दाबेदार उनकै ब्याचका छन् । अर्याल नेपाल प्रहरीको इन्स्पेक्टर दर्जामा २०५४ चैत १८ मा नियुक्त भएका थिए ।

सशस्त्रका एआइजी पौडेल र नेपाल प्रहरीका वर्तमान आइजिपी दानबहादुर कार्की, एआइजीहरू राजन अधिकारी र डा. मनोजकुमार केसी र सशस्त्रका एआइजी वंशीराज दाहाल पनि सोही मितिमा भर्ना भएका थिए । अर्यालसहितको टोली २०५८ सालमा सशस्त्र प्रहरी बल गठन हुँदा एक तह बढुवाको सुविधासहित सशस्त्रमा समायोजित भएका थिए ।

सशस्त्रमा पौडेल र दाहालमध्ये वरिष्ठतामा डिएसपीबाट एआइजीसम्म पौडेल अगाडि छन । एआइजी बढुवा हुँदा पौडेल पाँच महिनाले सिनियर हुन् । संगठनभित्र कार्यक्षमता र कार्यसम्पदानमा समेत उनी अब्बल मानिन्छन् । हालसम्म नेपाली सेना र सशस्त्र प्रहरीमा वरिष्ठता र मर्यादा मिचेर संगठन प्रमुख नियुक्त गरिएको इतिहास छैन । सशस्त्र प्रहरी स्थापनाको २५ वर्षमा जुन सरकार आए पनि आइजिपी हुनुपर्ने र वरीयतामा अघि रहेका कोही कसैलाई अन्याय भएको देखिन्न ।

सशस्त्र प्रहरी नियमावलीअनुसार अर्याल आइजिपीको चार वर्षे कार्यकाल पूरा गरेर वैशाख १८ मा अनिवार्य अवकाशमा जान लागेका हुन् । उनी २०७९ वैशाखमा सशस्त्र प्रहरीको सर्वोच्च पद आइजिपीमा बढुवा भएका थिए ।

सशस्त्र प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवावधि रहे पनि उनी आइजिपीको चार वर्षे कार्यकालका कारण दुई वर्षअघि अर्थात् २८ वर्षे सेवावधिमै अवकाशमा जाने भएका हुन् । सशस्त्र प्रहरीमा बलमा तीन जना एआइजीको दरबन्दी छ । पौडेल मानवस्रोत विभागका प्रमुख हुन् । सीमा सुरक्षा विभाग प्रमुखमा दाहाल छन् । अर्का एआइजी गणेश ठाडा मगर कार्यविभाग प्रमुख हुन् । ठाडा मगर भने जुनियर ब्याचबाट एआइजी भएका हुन ।

सशस्त्र प्रहरी नियमावलीअनुसार एआइजी र एआइजी नभएको अवस्थामा डिआइजीमध्येबाट सरकारले एक जनालाई आइजिपी बनाउन सक्ने उल्लेख छ । आइजिपीका मुख्य दाबेदार पौडेल २०७९ जेठ ६ मा एआइजीमा बढुवा भएका थिए । अर्याल आइजिपी बनेपछि एआइजीको रिक्त पदमा पौडेललाई बढुवा गरिएको थियो ।

आइजिपीको दोस्रा दाबेदार दाहाल भने पौडेलभन्दा करिब पाँच महिनापछि मात्रै एआइजिपीमा बढुवा भएका थिए । दाहाललाई तत्कालीन सरकारले २०७९ असोज २८ मा एआइजीमा बढुवा गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले सीमा सुरक्षा विभागमा एक एआइजीको दरबन्दी थप गरेको थियो । सोही दरबन्दीमा दाहाललाई लगिएको थियो ।

तत्कालीन अवस्थामा पौडेल र अर्का एआइजी चन्द्रप्रकाश गौतमपछि वरीयतामा रहेका दाहाललाई सोही दरबन्दीमा बढुवा गरिएको थियो ।पौडेल र दाहाल जो आइजिपी भए पनि उनीहरू २०८४ चैत १८ मा ३० वर्षे सेवावधिका कारण अनिवार्य अवकाशमा जाने छन् । जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले अघिल्ला सरकारहरूको जस्तो बेथिति नहुने भन्दै सरुवा र बढुवाका लागि नेताहरूकोमा नधाउन निर्देशन दिँदै आएको छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ५३ अनुसार सरकारले एआइजीमध्येबाट ज्येष्ठता र कार्यकुशलताका आधारमा आइजिपी नियुक्ति गर्नुपर्ने उल्लेख छ । यसका अतिरिक्त नियमावलीअनुसार नेतृत्व क्षमता, आर्थिक अनुशासन, व्यवस्थापकीय एवं रचनात्मक क्षमता तथा आफूभन्दा मुनिका सशस्त्र प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने क्षमतालाई पनि आधार मानिन्छ ।

यसअघिका सरकारले आइजिपीको अवकाशको अन्तिम सयमसम्म पनि नियुक्ति नगर्दा भावी आइजिपी र अवकाशमा जाने आइजिपी नै अन्योलमा पर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्