Logo
Logo

राजस्व वृद्धिका लागि करका दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण जरुरी : अर्थमन्त्री पौडेल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ मंसिर । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंशमा अभिवृद्धि गर्न करका दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताउनुभएको छ ।

नवौं राष्ट्रिय कर दिवस २०७७ को अवसरमा आइतबार आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले स्वेच्छिक कर सहभागिता वृद्धि गर्दै परिपालनाका माध्यमबाट समग्र राजस्व परिचालनमा अभिवृद्धि गर्न जरुरी रहेको बताउनु भएको हो । उहाँले कर परीक्षण कर, अनुसन्धान, बजार अनुगमन, प्रशासनिक पुनरावलोकन, बक्यौता असुली, बेरुजु फछर्यौटजस्ता परिपालनाका विधिलाई कडाइका साथ लागू गर्ननिर्देशन दिनुभयो ।

अर्थमन्त्री पौडेलले कर सहभागितामा न्यूनतम लागत, सेवाग्राहीमैत्री व्यवहार, प्रक्रियागत सरलीकरण, प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्न पनि निर्देशन दिनुभयो । यस्तै करदाताको कर प्रशासनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र करको दायरा र पहुँच विस्तारमा परिणाम देखिने गरी सुधार गर्न आन्तरिक राजस्व विभाग र मातहतका सबै राजस्व कार्यालयलाई निर्देशन दिनुभयो ।

उहाँले करदाता र कर प्रशासनबीचको स्वच्छ व्यवसायिक सम्बन्ध र आपसी विश्वास मजबुद भएमा मात्र राजस्व परिचालनमा सकारात्मक योगदान पुग्ने र यसका लागि कर दिवस सहयोगी रहने धारणा व्यक्त गर्नुभयो । अर्थमन्त्री पौडेलले कर तिर्न सक्ने नागरिकलाई कर तिर्नका लागि अभिप्रेरित गर्न कर्मचारीलाई शासकका रुपमा होइन, नागरिकको सेवकका रुपमा काम गर्न निर्देशन दिनुभयो ।

विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ महामारीका कारण गरिएको लकडाउन र त्यसपछिका निषेधाज्ञालगायतका आवगमनका अवरोधबाट अर्थतन्त्रमा आएको संकुचनको बाबजुद आर्थिक वर्ष २०७६÷७७ को राजस्वको संशोधित अनुमान पूरा भएको भन्दै अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म लक्ष्यको नजिक राजस्व संकलन हुने गरी कर सहभागिता जनाउनु हुने सबै करदातालाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले कोभिड महामारीको विषम परिस्थितिमा समेत आ–आफ्नो कार्यथलोमा अनवरत खटिएर कर्तव्य पालन गर्ने कर प्रशासन सम्वद्ध कर्मचारीलाई धन्यवाद दिनुभयो । अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बाँकी अवधिमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा योगदान गर्न विगतमा झैं निरन्तरको सहकार्य र सहयोगका लागि सम्पूर्ण करदातालाई अपिल गर्नुभएको छ । यस्तै कर प्रशासनमा सुशासन, सदाचार र भ्रष्टाचारप्रतिको सून्य सहनशीलताको नीतिलाई पालन गर्न निर्देशन दिनुभयो ।

आन्तरिक राजस्व विभागको चालु आर्थिक वर्षका लागि तय गरेको कार्यमूलक सूचकमा तोकिएको लक्ष्य हासिल गर्न र आर्थिक ऐन २०७७ मार्फत ल्याइएका विभिन्न योजना तथा सुधारका कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा योगदान गर्नुहुने विश्वास पनि व्यक्त गर्नुभयो ।

अर्थमन्त्री पौडेलले कर दिवसले कर प्रशासनको आवश्यक ज्ञान र दक्षता अभिबृद्धि गर्नुको साथै कर प्रशासनलाई निष्पक्ष सेवाग्राहीमैत्री भावनाको विकास गर्न उत्प्रेरित गराउन र सुशासनयुक्त तथा पारदर्शी बनाउन सहयोग पु¥याएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्