Logo
Logo

नेपाली सेनाले १० करोड डलर गुमाउने, ६ वटा होलिकोप्टर लिने


1.3k
Shares

काठमाडौं । दुई सातामा अमेरिकीउच्च भ्रमण भैरहेको बेला अमेरिकी सरकारले दिने भनेको १० करोड अमेरिकी डलर बराबरको सैन्य अनुदान भने गुम्ने खतरा बढेको छ । उता १३ अर्ब बराबरको अमेरिक हेलिकोप्टर भने लिने तयारी गरेको छ ।

अमेरिकी सरकारले क्षमता अभिवृद्धि र विपद् व्यवस्थापनलगायतलाई भन्दै नेपाली सेनालाई १० करोड अमेरिकी डलर दिने निर्णयमा नेपाली सेनाले समयमा निर्णय नगर्दा गुम्ने खतरा बढेको हो भने विपद उद्दारका लागि भने हेलिकोप्टर लिने भएको स्रोतले बताएको छ । अमेरिकी अधिकारीहरूले सैन्य सहयोग ऋण नभएको र फिर्ता गर्ने दायित्वसमेत नभएको जनाएपनि सेनाले निर्णय गरेको छैन ।

नेपाली सेना र अमेरिकी अधिकारीबीच त्यसको कार्यान्वयन र व्यवस्थापनको पक्षमा पटक–पटक छलफल भएको थियो । तर, अहिले नेपाली सेनाले तदारुकता नदेखाउँदा उक्त सैन्य सहयोगमा अन्यौल उत्पन्न भएको छ ।

नेपाली सेनाको हवाई क्षमता अभिवृद्धि गर्ने भनिए बमोजिम अमेरिकाले केही महिनाअघि नेपाली सेनालाई एयर एम्बुलेन्स र स्काई ट्रक दिइसकेको छ । अमेरिकाले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्न दिएको सहयोग स्वीकार्ने वा नस्वीकार्ने भन्ने विषयमा चाँडो निर्णय लिन आग्रह गरेको छ ।

सरकारले निर्णय लिन विलम्ब गरिरहे यो अवसर गुम्नसक्ने बताइएको छ । निर्णय कार्यान्वयनमा हुने ढिलाइले नेपाल र नेपालीहरूको हित गर्न नसक्ने बताइएपनि सेनाले कुनै जवाफ फर्काएको छैन ।

स्रोतका अनुसार, नेपाली सेना र अमेरिकी अधिकारीहरूबीच उक्त अनुदान स्वीकार्ने गरी धेरै पटक छलफल भइसकेको भएपनि यो विषयलाई सरकारी पक्षले बाहिर ल्याउन चाहेको छैन ।

रक्षा मन्त्रालय स्रोतका अनुसार, नेपाली सेनाले स्पष्ट छलफल र सहयोग ग्रहणका लागि तदारुकता नदेखाउँदा अमेरिकी सहयोग कार्यान्वयनमा नआएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, सरकार अहिले यति ठूलो संख्या र मूल्यमा हेलिकोप्टर खरिद गर्ने अवस्थामा छैन । अमेरिकी अधिकारीहरूले भने कार्यान्वयनमा धेरै ढिला गर्ने भए उक्त सहयोग अन्य मुलुकमा डाइभर्ट हुनसक्ने रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकारीहरूलाई जानकारी गराइसकेका छन् ।

स्रोतका अनुसार उक्त अमेरिकी अनुदानबाट अमेरिकाले नेपाललाई ६ वटा हेलिकोप्टर दिने तयारी गरेको र जंगी अड्डाले समेत त्यसमा स्वीकृति जनाएको स्रोतले बताएको छ ।

नेपाली सेना विस्तृत अध्ययन र मूल्यांकनपछि बेल हेलिकोप्टर कम्पनीबाट दुई ठूला र चार साना गरी जम्मा छ वटा हेलिकोप्टर उक्त सैन्य अनुदानबाट लिने निष्कर्षमा पुगेको थियो । अमेरिकी सहयोगबाट प्राप्त हेलिकोप्टर विपद व्यवस्थापन, डढेलो नियन्त्रण, गर्भवती तथा बिरामीको आकस्मिक उद्धारमा प्रयोग गर्ने नेपाली सेनाको तयारी हो ।

हाल नेपाली सेनासँग पर्याप्त उद्धार क्षमतायुक्त हेलिकोप्टरको अभाव छ । सीमित साधनस्रोतकै भरमा नेपाली सेनाले काम चलाइरहेको छ, जुन पर्याप्त नभएको सैनिक अधिकारीहरू बताउँछन् ।

सेनासँग पर्याप्त हेलिकोप्टर नहुँदा वर्षोंदेखि नेपाली सेना र नागरिकले आवश्यक परेका बेला उद्धार गर्न र गराउन नसक्दा कठिनाइ भोग्दै आएका छन् । अमेरिकी सरकारको ’फरेन मिलिटरी फाइनान्सिङ’ अनुदान कार्यक्रमअन्तर्गत करिब १०० मिलियन अमेरिकी डलर (झन्डै १३ अर्ब नेपाली रुपैयाँ) बराबरको यो सहयोग प्याकेज प्रस्ताव गर्दा सेनाले औपचारिक रुपमा कुनै निर्णय गरिसकेको छैन ।

सैनिक स्रोतका अनुसार काठमाण्डुस्थित अमेरिकी दूतावासले यसबारे छिटो निर्णय दिन सेनाका अधिकारीहरूलाई आग्रह गरिरहेको छ । यसअघि प्राप्त भएका हवाई साधनहरूको मर्मतसम्भार र इन्धन खर्च महँगो पर्ने देखिएपछि सेनाले यो नयाँ प्रस्तावमा गम्भीरतापूर्वक छलफल गरिरहेको छ । हेलिकोप्टर सञ्चालनका लागि आवश्यक पर्ने हवाई इन्धन, प्राविधिक तालिम र दीर्घकालीन मर्मतसम्भारको वित्तीय भार नेपाली सेनाको नियमित बजेटले धान्न सक्ने वा नसक्ने विषयमा प्राविधिक परामर्श भइरहेको बताइएको छ ।

समयमा उद्धार नहुँदा कतिपयले परिवार गुमाएका छन् भने कतिपयले बेलैमा उपचार नपाउँदा पीडा भोग्दै आएका छन् । अमेरिकाले नेपाली सेनाको क्षमता अभिवृद्धि गर्दै आफ्ना नागरिकहरूलाई समयमै सेवा प्रवाह गर्न सकोस् भन्ने उद्देश्यले नेपाली सेनालाई हेलिकोप्टर दिन लागेको हो । पर्याप्त हेलिकोप्टर हुँदा विपद व्यवस्थापनका लागि अन्य मुलुकको हेलिकोप्टर प्रयोग गर्नु पर्दैन र अन्य मुलुकलाई हारगुहारसमेत गर्नु पर्दैन ।

नेपाली सेना स्रोत साधनमा बलियो भए विपद व्यवस्थापनमा गर्न सकिने र आत्मनिर्भर हुँदा राष्ट्रिय स्वाधीनतासमेत बलियो हुने रक्षा विश्लेषकहरूले बताएका छन् । अमेरिकी सरकारले दिने हेलिकोप्टर नेपाली सेनाले रणनीतिक हिसाबले पश्चिम, मध्य र पूर्वी एयर बेसहरूमा राख्ने तयारीसमेत गरेको छ । जसले गर्दा नेपाली सेनाले विकटता र भौगोलिक जटिलता भएका स्थानमा विपद व्यवस्थापन र उद्धार सहजै गर्न सक्छ ।

सरकारले सन् २०१५ मा आएको विनाशकारी भूकम्पबाट प्रभावित भएकाहरूको उद्धार र राहत सामाग्री वितरण गर्न अन्य मुलुकसँग हेलिकोप्टर लगायतको सहायता मागेको थियो । त्यसबेला कतिपय हेलिकोप्टरले विना अनुमति निषेधित क्षेत्रमा उडान भरेका थिए, जसले राष्ट्रिय सुरक्षामा समेत आँच पु¥याएको रक्षा अधिकारीहरूले बताएका छन् । अमेरिकी सरकारले नेपाली सेनालाई दिने हेलिकोप्टरहरूमा एयर फ्रेमहरूमा हतियार जडान गर्न अमेरिकी नियमहरूले निषेध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्