Logo
Logo

पुँजीबजारमा ढकाल बन्धुकै हालीमुहाली


1.1k
Shares

काठमाडौं । पूँजीबजारको दैनिक मूल्य उतारचढावको सीमा (सर्किट लिमिट) १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याउने निर्णय अहिले गम्भीर विवाद र राजनीतिक–आर्थिक बहसको केन्द्रमा पुगेको छ । नियामक संरचनाको स्वायत्तता, निर्णय प्रक्रियाको पारदर्शिता र स्वार्थ समूहको प्रभावमाथि प्रश्न उठिरहेको बेला यो परिवर्तनलाई केही सरोकारवालाले “धितोपत्र विनियमावलीमै गरिएको छेडखानी” भन्दै कडा आपत्ति जनाएका छन् । विशेषगरी प्रभावशाली व्यवसायी तथा सञ्चालक हेमराज ढकालको नाम यस निर्णयसँग जोडिएपछि विवाद झन् चर्किएको छ ।

स्रोतहरूका अनुसार, सर्किट लिमिट बढाउने यो प्रस्ताव औपचारिक रूपमा नेपाल स्टक एक्सचेञ्जबाट प्रस्ताव गरिएको थिएन । तर धितोपत्र बोर्डले स्वीकृत गरेर आउँदा भने यो थपिएर आयो । यसमा धितोपत्र बोर्डकै अन्य सञ्चालकहरू पनि चकित परेका छन् ।

यो निर्णयसँगै नीतिगत परिवर्तनमा व्यक्तिगत तथा समूहगत स्वार्थले प्रभाव पारेको भन्ने गम्भीर प्रश्न उठेको छ । बजारका केही जानकारहरूले यो निर्णयमा ढकालको विशेष चासो रहेको दाबी गर्दै, लगानीकर्ता मनोविज्ञान प्रभावित गर्ने उद्देश्यले नीतिगत संरचनामा दबाब सिर्जना गरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

सर्किट लिमिट जस्तो संवेदनशील प्रावधान परिवर्तन हुनु सामान्य प्राविधिक निर्णय मात्र नभई पूँजीबजारको व्यवहार, जोखिम व्यवस्थापन र लगानीकर्ताको विश्वाससँग प्रत्यक्ष सम्बन्धित विषय हो । त्यसैले यस्तो निर्णयले नियामकको निष्पक्षता र स्वतन्त्रतामाथि प्रत्यक्ष प्रश्न उठाउँछ । यदि नीतिगत निर्णय व्यक्तिगत प्रभाव वा बाह्य दबाबमा आधारित भएर हुन्छ भने बजारको आधारभूत संरचना नै कमजोर बन्न सक्छ ।

यसैबीच, उद्योग–व्यापार क्षेत्रको नेतृत्व चयन नजिकिँदै गरेको सन्दर्भले पनि यो विवादलाई थप संवेदनशील बनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी माहोल तातिँदै गर्दा आर्थिक नीतिमा आएको यो परिवर्तनलाई केही पक्षले ढकालले भोट बटुल्न केही लगानीकर्ताको माग पूरा गरिदिएको बताएका छन् ।

चुनावी वातावरणमा लगानीकर्ता मनोविज्ञान, बजारको गति र आर्थिक सन्देशहरू महत्वपूर्ण हुने भएकाले यस्तो निर्णयको राजनीतिक अर्थ पनि खोजिन थालेको छ ।

नियामक निकायसँग सम्बन्धित केही पदाधिकारीहरू भने यो निर्णयलाई बजार विस्तार र कारोबारमा लचकता ल्याउने उद्देश्यले गरिएको दाबी गर्छन् । उनीहरूको भनाइमा, सर्किट लिमिट बढाउँदा बजारको तरलता बढ्छ र मूल्य निर्धारण प्रक्रिया अझ वास्तविक हुन्छ । तर, यही तर्कमाथि पनि प्रश्न उठेको छ—घट्दो बजारमा यस्तो परिवर्तनले लगानीकर्ताको जोखिम झन् बढाउने र अस्थिरता गहिरो बनाउने सम्भावना उच्च हुन्छ भन्ने विश्लेषकहरूको भनाइ छ ।

बजार अहिले नै कमजोर मनोविज्ञानमा रहेको अवस्थामा सर्किट लिमिट विस्तारले दैनिक उतारचढावलाई तीव्र बनाउन सक्ने जोखिम देखिएको छ । साना लगानीकर्ताहरूले मूल्य तीव्र रूपमा घट्ने डर व्यक्त गरिरहेका छन् भने केही सक्रिय ट्रेडरहरूले यसलाई अल्पकालीन नाफाको अवसरका रूपमा पनि हेरेका छन् । तर, दीर्घकालीन स्थिरताका दृष्टिले यस्तो उच्च उतारचढाव बजारका लागि स्वस्थ संकेत नभएको विज्ञहरूको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्