Logo
Logo

काठमाडौंका सबै सुकुमवासी बस्तीमा शुक्रबारबाट डोजर चल्ने


1.2k
Shares

काठमाडौं । काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुमवासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार एक विज्ञप्ति जारी गर्दै यही वैशाख १८ बिहान ७ बजेबाट एकै पटक खाली गराउने काम सुरु हुने जनाएको छ ।

The current image has no alternative text. The file name is: sukumbasi-basti-1230.jpg

‘काठमाडौं जिल्ला भित्रका विभिन्न पालिकाहरुका नदि किनाराका बस्ती एंव सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनाधिकृत तबरबाट बर्षौदेखि वसोवास भै आएका बस्तीहरू मानवीय रुपमा उद्वार गर्न एवं विपदको जोखिम समेत मध्यनजर गरी खाली गर्ने कार्य काठमाडौं जिल्ला भरी मिति २०८३ वैशाख १८ गते विहान ७:०० बजे देखि एकै पटक विभिन्न स्थानहरुबाट सुरु हुनेछ,’ प्रशासनले भनेको छ ।

यसअघि काठमाडौंको थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहराका बस्ती खाली गराइएको थियो । बस्ती खाली हुने क्षेत्रका बासिन्दालाई प्रशासनले विभिन्न १३ विभिन्न कार्य तत्काल गर्न भनेको छ ।

यी हुन् प्रशासनले अनुरोध गरेका कार्य–
१. जोखिमपूर्ण वस्तीमा निर्माण भएका घरटहराहरू तत्काल खाली गर्नुहोला ।

२. तपाईंको परिवारमा विरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी वा साना बालबालिका छन् भने उनीहरूलाई सर्वप्रथम सुरक्षित तवरबाट अन्यत्र स्थानमा सार्ने कार्य गर्नुहोला ।

३. बिरामी, अशक्त, दीर्घरोगी, जेष्ठ नागरिकलाई उद्वार गर्नुपर्ने भएको खण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नगर प्रहरीको सहायता लिनुहोला। अस्पतालसम्म लैजानुपर्ने व्यक्तिलाई एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ । तपाईंको आवश्यकता अनुसार मद्दत लिनुहोला ।

४. तपाईको व्यक्तिगत मालसामानहरू, लत्ताकपडा, पशुपंक्षी चौपाया, समेत बाहिर निकाल्नु होला । उक्त बस्तुहरूको ढुवानी गरी अन्यत्र लैजानु पर्ने अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी काठमाडौं महानगरपालिका प्रहरी र स्थानीय प्रहरी समेतको मद्दत लिनुहोला । ५. २०८३ वैशाख १७ गते साँझ सम्म पूर्ण रुपमा घर टहरा खाली गर्नु होला । ६. वास्तविक रुपमा आश्रय लिनुपर्ने व्यक्ति र परिवारलाई नेपाल सरकारले तत्काल व्यवस्थापन गरेको स्थानमा बसोबासको व्यवस्था गर्नेछ ।

७. वास्तविक भूमिहिन व्यक्ति एवम् परिवारको पहिचान गरी दिगो रुपमा समस्याको समाधान नेपाल सरकारका सम्बन्धित निकायबाट यथासक्य छिटो हुनेछ ।

८. तपाईंलाई मानवीय सहायता प्रदान गर्दै, उद्धार गर्ने कार्य हुनेछ । कोही कसैको गलत हल्ला, दवाव, प्रभाव वा अफवाहका पछाडी नलाग्नुहोला ।

९. नक्कली एवं अवास्तविक भूमिहिन भनिएका व्यक्ति एवं परिवारको पहिचान गरी कानूनी कारबाहीको दायरामा ल्याइने छ ।

१०. तपाईंको सुरक्षा, जिउ ज्यानको रक्षा र संविधान प्रदत्त तपाईको हक अधिकार सुरक्षित रहनेछ ।

११. सरकारको यस अभियानमा सहयोग गर्ने कार्य तपाईको समेत कर्तव्य र जिम्मेवारी हो ।

१२.सरकारले तपाईलाई सहयोग र मद्दत गर्न आएको छ । तपाईका वालवालिकाको शिक्षाको प्रबन्ध अवश्य सरकारको तर्फबाट हुनेछ ।

१३.कसैले यो सूचनालाई अटेर गरी बस्दा घर टहरा भत्किई थप क्षति हुन पुगेमा त्यसको जिम्मेवार तपाई स्वयम् हुने व्यहोरा समेत यसै सूचनाबाट सूचित गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्