काठमाडौं । प्रधानमन्त्री बालेन शाह (बालेन) ले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै विश्वशान्तिको कामना गरेका छन् ।

बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री शाहले बुद्धले देखाएको बाटो दुःख निवारणको बाटो भएको बताएका हुन् । उनले बुद्धका चार आर्य सत्यलाई स्मरण गर्दै भनेका छन्, ‘बुद्धले भन्नुभयो- दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःख निवारण गर्ने मार्ग छ । हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ ।’
अँध्यारोलाई उज्यालोको अभावको संज्ञा दिँदै प्रधानमन्त्री शाहले उज्यालोको किरणले पाइला टेक्नासाथ अँध्यारो स्वतः बिलाएर जाने बताएका छन् ।
बुद्धको जन्मले नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा रहेको पनि प्रधानमन्त्री शाहको तर्क छ । प्रधानमन्त्री शाहको सन्देशमा क्रान्तिको परम्परागत भाष्यलाई प्रतीकात्मक रूपमा चिर्ने प्रयास गरिएको छ । उनले भनेका छन्, ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो ।’
बुद्धको प्रसिद्ध उपदेश ‘अप्प दीपो भवः’ (आफ्नो बत्ती आफैँ बन अर्थात् आफ्नो बाटो आफैँ तय गर) उल्लेख गर्दै प्रधानमन्त्री शाहले सबैलाई शुभकामना दिएका छन् ।











