काठमाडौं । बालेन सरकारले काठमाडौं खोला किनारमा रहेका सुकुम्वासी बस्ती भत्काएको विरोधमा सुनसरीको धरानमा विरोध प्रदर्शन गरिएको छ ।

धरानको छाता चोकमा भेला भएर सुकुम्वासीहरूले धरान बजार परिक्रमा गर्दै विरोध गरेका हुन् । नेपाल बसोबास बस्ती संरक्षण समाज र बस्ती रक्षा संरक्षण परिचालन समितिको अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको ज्यादतीको विरोध गरेका छन् ।
सुकुम्वासीको उचित बसोबासको व्यवस्था नगरी उनीहरूको बस्दै आएको ठाउँमा डोजर चलाएको भन्दै सुकुम्वासीले सरकारी दमनको विरोध गरे । उनीहरूले संविधानमा नै आवासको हक भएकाले सरकारले सुकुम्वासीको बसोबासको ग्यारेन्टी गर्नु पर्ने बताए ।
नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीले सरकारी दमनको विरोध गरे । उनले सरकारले सुकुम्वासीको बस्तीमा सरकारले डोजर चलाएर राज्य आतङ्क मच्चाएको बताए ।
उनले सरकारले सुकुम्वासी माथि अमानवीय ढङ्गले व्यवहार गरेको आरोप लगाएका छन् । । धरानमा भएको प्रदर्शनमा हजारौँ सकुम्वासीको सहभागिता रहेको छ । प्रदर्शनमा धरानमा क्रियाशील राजनीतिक दलको समेत सहभागिता रहेको थियो ।











