काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकार निर्वाचित सर्वसत्तावादको बाटोमा अघि बढिरहेको आरोप लगाएका छन् । शनिवार जिल्ला समन्वय समिति जिम्मेवारी सम्बन्धी कार्यक्रममा बोल्दै ज्ञवालीले सरकार गठन भएको १०० दिनभित्र बोलेको आलोचना नचाहेको बताए पनि सरकारका गतिविधिले मौन बस्न नमिल्ने अवस्था सिर्जना गरेको उल्लेख गरे ।

उनले भने, “केही कुरा नभनी नहुने, रेकर्डमा राख्नैपर्ने र समाजलाई सचेत बनाउनैपर्ने स्थिति आएको छ । सरकार कसरी हिँडिरहेको छ भन्ने हेर्दा आगामी दिनहरू धमिलो र अशुभ देखिन थालेका छन् ।”
सरकारको कामकारबाहीले नेपाली जनताले लामो सङ्घर्षबाट प्राप्त गरेका लोकतान्त्रिक अधिकारहरू क्रमशः सङ्कुचित हुँदै गएको जोखिम बढेको ज्ञवालीको टिप्पणी छ । उनले २०२१ सालमा पञ्चायती व्यवस्थाविरुद्ध नेपाली जनताले खोसेर ल्याएको पहिलो अधिकार स्वतन्त्र विद्यार्थी युनियनको अधिकार भएको स्मरण गराए ।
“दलहरू प्रतिबन्धित थिए, नेताहरू जेलमा थिए, तर विद्यार्थीहरूले स्वतन्त्र विद्यार्थी युनियनको अधिकार प्राप्त गरेका थिए,” उनले भने, “आज त्यही अधिकार कटौती गर्ने घोषणा गरिएको छ ।” त्यस्तै, ट्रेड युनियन अधिकार संविधानले नै दिएको अधिकार भएको उल्लेख गर्दै ज्ञवालीले भने, “ट्रेड युनियन वा विद्यार्थी सङ्गठनमा विकृति होला, दलहरूमा पनि विकृति छन् । तर विकृति छ भन्दैमा दलविहीन व्यवस्था कल्पना गर्न सकिन्छ रु” उनले तत्कालीन राजा महेन्द्रले २०१७ सालमा गरेको कदमको उदाहरण दिए ।
स्वतन्त्र मिडियालाई कमजोर बनाउन विज्ञापनमा नियन्त्रण गरिएको र सामाजिक सञ्जालमा फरक मत राख्नेहरूमाथि सङ्गठित रूपमा बुलिङ तथा दुर्व्यवहार गर्ने संस्कृति बढेको उनले बताए ।











