Logo
Logo

महासंघमा ‘कवाफमा हड्डी’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्र ढकाल र किशोर प्रधानको अन्तिम दौड चलिरहेको छ । वरिष्ठ उपाध्यक्षमा ढकालको जित सुनिश्चितजस्तै बने पनि प्रधानले यसलाई प्रतिष्ठाको विषय बनाएका छन् । खासगरी पूर्वअध्यक्ष चण्डीराज ढकालले प्रधानलाई धोका दिएको झोंक फेर्न उनले उम्मेदवारी दिएका हुन् ।

विगतमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासँग चुनाव हारेका प्रधानलाई वरिष्ठ उपाध्यक्ष बनाउने भनेर ढकालले प्रधानलाई जिल्ला, नगरको उपाध्यक्ष बनाएका थिए । त्यतिबेला भवानी राणा, शेखर गोल्छा र चन्द्र ढकाल एउटै समूहमा थिए । बीचमा शेखर गोल्छालाई अध्यक्ष बन्न नदिन ढकालले विधान संशोधनको बखेडा झिकेपछि राणा, गोल्छाले चण्डीराज ढकालविरुद्ध मोर्चा कसेका थिए । यसमा चन्द्र ढकालको समेत समर्थन थियो । तर, बीचमा चण्डीराज ढकालले चन्द्र ढकाललाई वरिष्ठ उपाध्यक्षमा समर्थन गरेपछि चण्डीराज ढकालविरुद्ध भवानी राणा, शेखर गोल्छा र किशोर प्रधान एकजुट हुन बाध्य भए ।

महासंघको चुनावी राजनीतिमा पूर्वअध्यक्षहरुले सहमतिको कुरा गरे पनि चण्डीराज ढकाल ‘कवाफमा हड्डी’ बन्ने गरेका छन् । पूर्वअध्यक्ष ढकालकै कारण महासंघमा जहिले पनि भाँडभैलो मच्चिने गरेको छ । यसपटक पनि शेखर गोल्छा र चन्द्र ढकालबीच विवाद ल्याउन चण्डीराज ढकाल सफल भए । नभए चन्द्र ढकालको वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत हुने सम्भावना थियो ।

महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ जहिले पनि एकताको पक्षमा उभिने गरेका छन् । श्रेष्ठले नै पूर्वअध्यक्षहरुलाई संयोजन गर्दै आएका छन् । तर, पूर्वअध्यक्ष भएर पनि चण्डीराज ढकाल महासंघको राजनीतिमा ‘भुइँफुट्टा’ जस्ता देखिएका छन् । पूर्वअध्यक्ष श्रेष्ठलगायतको टिमले प्रधानलाई चुनाव लडाएर हराउनुभन्दा महासंघलाई बलियो बनाउन प्रधानको भूमिका महासंघमा स्थापित गर्ने पक्षमा छन् । यसका लागि प्रधानले त्याग गर्नुपर्ने हुन्छ । विगतमा पनि रविभक्त श्रेष्ठले प्रदीपकुमार श्रेष्ठलाई समर्थन गरेर त्याग गरेको इतिहास छ । अहिले पनि प्रधानले त्याग गर्ने हो भने उनको महासंघमा भविष्य छ । यस विषयमा प्रधान समूहले गम्भीरताका साथ विचार गर्नुपर्छ । समय अझै बाँकी छ । तर, चण्डीराज ढकालको कारण यसपटक पनि महासंघ भाले भिडन्तको थलो बन्दैछ । जुन कुरा महासंघका पूर्वअध्यक्षहरुलाई मन परेको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्