काठमाडौं । अनामनगरस्थित धोविखोला कोरिडोरमा रहेको चर्चित सात तले घर भत्काइएको छ । घरधनीले जग्गाको लालपुर्जा र नक्सापास देखाउँदा देखाउँदै घरमा डोजर चलेको हो ।

घरधनी इन्द्र चाम्लिङले डोजर चलाउने हल्लापछि घरबाहिरै आफ्नी छोरीको नाममा रहेको जग्गाको लालपुर्जा र नक्सापास घरको भित्तामा टाँसेका थिए ।
लगातार तीन दिन सरकारी बिदा परेकाले उनले अदालतबाट अन्तरिम आदेश ल्याउन पाएनन् । घर भत्कनुअघि चाम्लिङले आफूले कुनै सरकारी जग्गा नहडपेको बताएका छन् । उनले भने, ‘म सरकारी जग्गा हडेपेर सुकुम्वासी भएर बसेको होइन । नेपाल सरकारले अनुमति दिएर घर बनाएको हो । जग्गाधनी पुर्जा छ । नक्सापास भएको छ । राजश्व तिरिएको छ । यो घर कसरी भत्काउन मिल्छ ?’
पोहोर पनि घर भत्काउने हल्ला चलेपछि उनी उच्च अदालत गएका थिए । अदालतले यो सरकारी जग्गा होइन भनेर ठहर्याएको चाम्लिङको भनाइ रहेको छ । उनले अदालतले यो व्यक्तिको जग्गा हो भनेर वडा कार्यालय र महानगरपालिकालाई समेत पत्र दिएको छ । मालपोत, नापीले दिएको पुर्जा प्रमाण छ । वडा कार्यालयले दिएको नक्सा छ । सरकारले राजश्व बुझेको छ । अनुमति दिने उही । नक्शा पास गर्ने उही । राजश्व लिने उही । अहिले भत्काइदिने पनि उही ?’











