
काठमाडौं । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना भत्काइरहेको सरकारले आज (आइतबार) बागमती र सहायक नदीका किनारमा डोजर चलाएको छ ।
सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिका तथा बुढानिलकण्ठ नगरपालिकाको समन्वयमा आज धोबी खोला किनारको अनामनगर, बालाजु, माछापोखरी, कपन क्षेत्रमा अनधिकृत रुपमा निर्माण गरिएका संरचना भत्काइएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गरी निर्माण गरिएका ८० घर टहरामा डोजर चलेको जानकारी दिए । त्यस्तै धोबी खोलाको किनार मिचेर अनामनगर क्षेत्रमा बनाइएका ६ घर भत्काइएको छ ।
‘बालाजु, माछापोखरी क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका ७ वटा संरचना भत्काइएको छ । अब कपनको तेन्जिङ चोकका अतिक्रमित संरचना पनि हटाइँदैछ ।
उनका अनुसार अहिलेसम्म काठमाडौं उपत्यकाभित्र २ हजारभन्दा बढी घरटहरा हटाइएको छ । प्रधानमन्त्री वालेन शाहको निर्देशनपछि एक साता अघिदेखि उपत्यकाभित्रका अतिक्रमित संरचना र सुकुमबासी बस्ती हटाउने काम सुरु भएको हो । शनिबार काठमाडौँको थापाथाली, सिनामङ्गल–गैरीगाउँ, भक्तपुरको मनोहरालगायत क्षेत्रका संरचना हटाइएको थियो ।











