Logo
Logo

दिल्ली र बेइजिङलाई सरकारको सन्देशः लिपुलेकमा गतिविधि नगर्नू


0
Shares

काठमाडौँ । परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राबारे नेपाल सरकारको स्पष्ट अडान र सरोकार दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराएको जनाएको छ ।

The current image has no alternative text. The file name is: Pararastra.gif

विभिन्न सञ्चारमाध्यमबाट उठाइएका प्रश्न र चासोप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको विषयमा नेपाल सरकार पूर्ण रूपमा स्पष्ट र अडिग रहेको दोहोर्‍याएको छ ।

मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग रहेको ऐतिहासिक तथ्यमा नेपाल सरकार दृढ रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा नेपाली भूमि लिपुलेक हुँदै सञ्चालन गर्न लागिएको भनिएको कैलाश मानसरोवर यात्राबारे नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट जानकारी गराइसकेको जनाइएको छ ।

यसअघि पनि नेपाल सरकारले उक्त क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार तथा तीर्थयात्रासम्बन्धी कुनै पनि गतिविधि नगर्न भारत सरकारलाई निरन्तर आग्रह गर्दै आएको मन्त्रालयले स्पष्ट पारेको छ । साथै, लिपुलेक क्षेत्र नेपाली भू–भाग भएको विषय मित्रराष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको उल्लेख गरिएको छ ।

नेपाल र भारतबीचको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धको भावना अनुरूप ऐतिहासिक सन्धि–सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा सीमा समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार सधैं प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्