Logo
Logo

सशस्त्र प्रहरीलाई ‘स्मार्ट, इन्टेलिजेन्स ड्रिभन र मिसन रेडी फोर्स’ को रूपमा विकास गरिने


378
Shares

काठमाडौं । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले बदलिँदो सुरक्षा चुनौतीहरूको सामना गर्न सशस्त्र प्रहरी बललाई ‘स्मार्ट, इन्टेलिजेन्स ड्रिभन र मिसन रेडी फोर्स’ को रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

सोमवार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उनले सङ्गठित अपराध, अन्तरदेशीय अपराध, मानव बेचबिखन र साइबर अपराध नियन्त्रणका लागि सूचना विश्लेषण र प्रविधिमा आधारित निगरानी प्रणालीलाई सुदृढ बनाइने बताएका हुन् ।

सीमा सुरक्षालाई सङ्गठनको मेरुदण्ड मान्दै अर्यालले खुला सीमाबाट हुने अवैध गतिविधि नियन्त्रणका लागि ‘बोर्डर इन्टेलिजेन्स’ को विकास गर्ने योजना अघि सारे। उनले सीमा क्षेत्रमा बोर्डर आउट पोस्ट (बीओपी) हरूको विस्तार, रणनीतिक तैनाथी र छिमेकी मुलुकका सुरक्षा निकायहरूसँग व्यावसायिक सहकार्यलाई थप प्रभावकारी बनाइने उल्लेख गरे ।

विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भुमिकालाई अझ प्रभावकारी बनाउन कुरिनटार र मनाङमा रहेका तालिम शिक्षालयहरूको सुदृढीकरण गर्ने र नयाँ ‘फायर फाइटिङ ट्रेनिङ स्कुल’ स्थापनाका लागि पहल गर्ने उनले बताए ।  साथै, सशस्त्र प्रहरीको स्वास्थ्य सेवालाई विस्तार गर्दै अस्पताललाई मेडिकल कलेज तथा शिक्षण अस्पतालको रूपमा विकास गर्न पहल गर्ने उनले बताए । 

संगठनभित्र सुशासन, पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरिने महानिरीक्षक अर्यालले स्पष्ट पारे । सशस्त्र प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्न वृत्तिविकासको स्पष्ट खाका र कल्याणकारी कार्यहरूलाई प्राथमिकता दिइने उनले बताए । साथै, सङ्गठनभित्रका आन्तरिक गुनासोहरूलाई आन्तरिक रूपमै सम्बोधन गर्ने संयन्त्रलाई सुदृढ बनाइने उनको भनाइ रहेको छ । 

उनले अग्रजहरूले सुरु गरेका सकारात्मक र सुधारमुखी कार्यक्रमहरूलाई निरन्तरता दिँदै समय सापेक्ष परिमार्जन गर्ने अठोट समेत व्यक्त गरे ।  महानिरीक्षक पौडेलले नेपाल सरकारको १०० दिने रणनीतिक सुधार योजना अनुरूप कार्ययोजना तयार गरी सङ्गठनलाई जनउत्तरदायी र आधुनिक सुरक्षा संस्थाको रूपमा स्थापित गर्न आफू दृढ संकल्पित रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्