काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली पित्तथैलीको पत्थरको अप्रेसनपछि पार्टीको कुनै पनि कार्यक्रममा सहभागी भएका छैनन् । स्रोतका अनुसार, केही समय उनलाई बेडरेस्टमा बस्न चिकित्सकहरूले सल्लाह दिएका छन् । परिवार निकट स्रोतका अनुसार, अप्रेसनपछि भित्री ‘इनफेक्सन’ भएका कारणले पनि ओलीलाई बेडरेस्ट गर्नुपर्ने अवस्था छ ।

ढल्कँदै गएको उमेर दुई दुई पटक मिर्गौला प्रत्यारोपण, स्वासप्रश्वाससम्बन्धी समस्याका कारणले पनि ओली सक्रिय रुपमा काम गर्न सक्ने अवस्थामा छैनन् । तर, बढ्दो मनोबलका कारण उनमा कुनै रोग छ जस्तो देखिन्न ।
एमालेको तीनपटक अध्यक्ष, चारपटक प्रधानमन्त्री बनेका ओलीले स्वेच्छाले पार्टीबाट अवकाश लिएर सहज जीवनयापन गर्नु उनको लागि उत्तम विकल्प हो । त्यसैले उनी आफैँले नवौं महाधिवेशनमा दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने र ७० वर्ष उमेर कटेपछि केन्द्रीय कमिटीबाट पनि अवकाश लिनुपर्ने कुरा विधानमै उल्ल्ेख गरे । तर, उनको चाहनाले मात्रै त्यो किमार्थ लागू हुने अवस्था थिएन । उनका कोटरीमा रमाउन चाहनेहरूले उनलाई पटकपटक उचाल्दै थेचार्दैै आए पनि उनको होस् नखुलेको कारण जेनजी आन्दोलनको शिकार बन्नुपर्यो ।
उनका मुख्य सल्लाहकार विष्णु रिमालको कुरा नसुनेको भए ओलीमाथि यति ठूलो विपद् आइलाग्ने थिएन । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगाउनुको पछाडि रिमालको स्वार्थ समूहलाई रिझाउनु थियो, जुन समूहसँग उनको छोराको व्यावसायिक सम्बन्ध रहेको बताइन्छ ।
जे हुनु थियो बेलैमा बुद्धि पुर्याउन नसक्दा दुई–दुई पटक दुई तिहाइको प्रधानमन्त्री बनेका ओली अहिले घर न घाटका भएका छन् । उनको कारण एमाले मात्रै सकिएको छैन, सिंगो कम्युनिष्ट आन्दोलन पनि पश्चिम बंगालको यात्रामा ओरालो लागेको छ । तर, पनि ओलीमा कुनै पश्चाताप छैन । उनी निकटकै ‘दास’हरूले राजीनामा गर्नुपर्यो भन्दा ओलीले महासचिव पद बढी भयो कि क्या हो भनेर हकार्न थालेका छन् ।
जननेता मदन भण्डारीले भन्थे–‘लातका भूत बातले मान्दैन’ अहिले एमालेमा ओलीका लागि त्यस्तै अवस्था आएको छ । एमालेको सिंगो नेतृत्व ओली हटाउन लागि परेको छ ।विशेष महाधिवेशनको माग बढेको छ । ओली पछिको नेतृत्व कसले गर्ने भन्ने बहस सुरु भएको छ ।
यस्तो संकटको घडीमा रामबहादुर थापा बादल जस्ता अवसरवादी नेताको संगत छाडेर ईश्वर पोखरेल जस्ताको संगत गरे बुद्धिमानी हुने थियो । तर, दुर्भाग्य मुर्खदेखि दैब डराउँछन् भन्ने अवस्था छ ।
एमाले कुनै व्यक्तिको पेवा नभएकोले ढिलोचाँडो अब ओलीको बहिर्गमनको विकल्प छैन । त्यसमाथि १९ जना विद्यार्थी हत्याको आरोप उनीमाथि छ । सरकारले उनीमाथि मुद्दा चलाउन थप प्रमाणहरु जुटाउँदैछन् ।
यस्तो संकटपूर्ण अवस्थामा ओलीले राजीनामा दिए, नयाँ नेतृत्वमा एमाले अगाडि बढ्ने आम कार्यकर्ताहरुको विश्वास छ । ओली निकट स्रोतका अनुसार दबाबसामु नझुक्ने उनको स्वभाव भएकोले बाहिर हल्ला गर्नुभन्दा भित्रभित्र सहमतिको प्रयास गरे ओली अन्ततः राजीनामाका लागि तयार हुनेछन् ।












