काठमाडौं । किर्तिपुरस्थित राधास्वामी सत्सङ्ग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आजदेखि विद्यालय जाने भएका छन् ।

महानगरपालिकाको शिक्षा विभागले सोमबार विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उनीहरूको रुचि र आवश्यकता पहिचान गरेपछि आजदेखि वडा नम्बर १४ मा रहेको जन विकास माध्यमिक विद्यालयमा पठाउन लागिएको हो । यो विद्यालय, बालबालिका रहेको ठाउँबाट पैदल दुरीमा छ ।
नदी किनारामा अव्यवस्थित बसोबास गरिरहेका घर टहरा खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगलसहित विभिन्न स्थानबाट ल्याइएका ६६ परिवारका २०३ जना अहिले राधास्वामी सत्सङ्ग आश्रममा रहेका छन् । उनीहरूमध्ये अपाङ्गता भएका १ जना सहित ६२ जना पुरुष, ३ जना सुत्केरी र २ जना गर्भवती सहित ८० जना महिला, ३१ जना बालिका र ३० बालक रहेका छन् ।
यी परिवारमा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका विद्यालय उमेरका रहेका छन् । ४ जनाले यस वर्ष एसईई दिएका थिए । उनीहरूले कम्प्युटर, सिलाइ बुनाइ जस्ता सिप सिक्न छाहेको बताएको छन् भने महानगरपालिकाले उनीहरूले चाहेको सिपमूलक तालिमको प्रबन्ध गर्ने योजना बनाएको शिक्षा अधिकारी नमराज ढकालले बताए ।
विद्यालय उमेरका विद्यार्थीमध्ये ३० जना छात्रछात्राका अभिभावकले आफ्ना नानीबाबुलाई छात्राबासमा राखेर पढाउने चाहना राखेका छन् । जसमा ११ जनाले भने छात्राबासमा बस्न अनिच्छा व्यक्त गरेको महानगरले जनाएको छ ।
महानगरले छात्राबासमा राखेर आवास सुविधासहितको अध्ययनका लागि प्याब्सन, एनप्याब्सन र हिसानमार्फत अनुरोध गरेको र व्यवस्थापनको प्रयास गरिरहेका जनाएको छ ।












