काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै खुल्ला पत्र लेखेका छन् । संसद छलेर चल्ने सरकार ज्यू भन्दै सम्बोधन गरिएको उक्त पत्रमा साम्पाङले सीमा सुरक्षा, सुकुम्वासी समस्या र देशको अर्थतन्त्रका विषयमा गम्भीर प्रश्नहरू उठाएका छन् ।

नेपालको लिपुलेक हुँदै भारतले कैलाश-मानसरोवर जाने बाटो बनाइरहँदा सरकार किन मौन बसेको भन्दै उनले प्रश्न गरेका छन् । केवल कूटनीतिक नोट पठाएर झारा टार्ने काम भएको भन्दै उनले नेपाल, भारत, चीन र संयुक्त राष्ट्र सङ्घलाई राखेर चतुर्पक्षीय वार्ता गरी सीमा जोगाउन माग गरेका छन् ।
सेनालाई मन्त्रीहरूको व्यक्तिगत पाले बनाइएको वा ढोका खोल्ने काममा लगाइएको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् । सिमानामा सेना नभएकै कारण सीमा मिचिएको भन्दै सेनालाई सीमा रक्षाका लागि सिमानामै खटाउनुपर्ने उनको तर्क छ ।
गरिबको बास भत्काउन डोजर प्रयोग गरिरहेको सरकारलाई साम्पाङले सुझाव दिँदै भनेका छन्-‘सुकुम्वासी बस्तीमा व्यस्त डोजरहरू रोशी खोला लगायतका ठाउँमा बाढीले भत्काएको बाटो खोल्न र विपद् व्यवस्थापनमा पठाउनु पर्दैन ?’
विदेशी ऋण लिएर देश डुबाउने कार्य तुरुन्त रोक्न उनले माग गरेका छन् । ‘राज्यलाई सन्तुलनमा राखेर सञ्चालन गर्न नसक्ने हो भने राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ’ पत्रमा लेखिएको छ ।
बजेट निर्माण गर्दा सबै क्षेत्रका जनताका समस्यालाई समेट्नुपर्ने र सरकारले के गर्दैछ भन्ने कुरा पत्रकार सम्मेलनमार्फत जनतालाई जानकारी गराउनुपर्ने साम्पाङको माग छ ।













