Logo
Logo

गुल्सन चम्किँदा ओमानमाथि नेपालको सानदार जित, घरेलु मैदानमा जोड्यो ६ अंक


567
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले ओमानमाथि सानदार जित निकालेको छ।

The current image has no alternative text. The file name is: nepal-c.jpg

कीर्तिपुरस्थित टियु मैदानमा मंगलबार भएको सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गर्दै सुखद अन्त्य गरेको हो। श्रृंखलामा नेपालले चार खेलमध्ये तीनमा जित र एकमा हार व्यहोरेको छ।

यससँगै नेपालले घरेलु मैदानमा ६ अंक जोड्दै लिग–२ तालिकामा कुल १८ अंक पुर्‍याएको छ। सातौँ स्थानमा रहेको नेपालले २४ खेलमा आठ जित र १४ हार व्यहोरेको छ भने दुई खेल रद्द भएका थिए।

नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.३ ओभरमा सबै विकेट गुमाउँदै १७५ रनमै समेटियो।

ओमानलाई सस्तैमा रोक्न गुल्सन झाले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए। उनले नौ ओभरमा ३८ रन खर्चिए। करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान एक–एक विकेट लिए।

ओमानका विनायक शुक्लाले सर्वाधिक ३६ रन बनाए भने हमाद मिर्जाले ३४ रन जोडे। ओपनर हस्नैन उल वहाबले २९ रन बनाउँदा कप्तान जतिन्दर सिंह र नदिम खानले समान १२ रन जोडे। हस्नैन साहले १४ तथा वसिम अलीले १० रन बनाए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनाएको थियो। नेपालका लागि ओपनर आशिफ शेखले उत्कृष्ट ९४ रन बनाए। उनले ९७ बलमा सात चौका र ६ छक्का प्रहार गरे।

आशिफले दोस्रो विकेटका लागि अर्जुन कुमालसँग १२२ रनको शतकीय साझेदारी गरेका थिए। अर्जुनले ८७ बलमा चार चौकासहित ४८ रन बनाए। २७.५ ओभरमा अर्जुन क्याचआउट भएपछि उक्त साझेदारी टुटेको थियो।

अविजित रहेका आरिफ शेखले ४३ रन बनाए भने उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे। गुल्सन झाले १७ रनको योगदान दिए।

ओमानका नदिम खानले तीन विकेट लिए। शकिल अहमद र हस्नैन साहले समान दुई विकेट लिँदा जितेन्द्र रमानन्दी र आर्यन विष्टले समान एक–एक विकेट लिए।

हारसँगै ओमानले श्रृंखलामा चार खेलमध्ये दुई जित र दुई हारको नतिजा निकाल्यो। तालिकाको तेस्रो स्थानमा रहेको ओमानले २८ खेलबाट ३१ अंक जोडेको छ। उसले १४ जित, ११ हार व्यहोर्दा तीन खेल रद्द भएका थिए।

यस नतिजासँगै नेपालले शीर्ष चारमा पुग्ने सम्भावना जीवित राखेको छ। बाँकी १६ खेलमध्ये १३ खेल जित्नुपर्ने दबाबमा रहेको नेपालको विश्वकप क्वालिफायर यात्रा पनि थप रोमाञ्चक बनेको छ।

नेपालले आगामी वैशाख २९ गतेदेखि घरेलु मैदानमै अमेरिका र स्कटल्यान्ड सम्मिलित अर्को त्रिदेशीय श्रृंखला खेल्ने तालिका छ। ओमानविरुद्धको यो जितले आगामी खेलका लागि नेपाली टोलीको मनोबल थप उच्च बनाएको छ।

प्रतिक्रिया दिनुहोस्