
काठमाडौं । भैरहवास्थित रोयल कालिङ्गा क्यासिनोबाट म्यानेजरसहित १९ जना नेपाली पक्राउ परेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको गौतमबुद्ध इन्टरनेसनल होटलमा सञ्चालित यो क्यासिनोमा कानूनविपरीत नेपाली सहभागी भएको सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।
सिद्धार्थनगर नगरपालिका–१० स्थित रहेको क्यासिनोमा चेकजाँच गर्दा जुवा खेल्ने र खेलाउने कार्यमा संग्लन १९ जनालाई नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।
मंगलबार राति क्यासिनोमा जुवा खेलाउने कार्यमा ४ जना र खेल्ने १५ जनालाई नियन्त्रणमा लिइएको र उनीहरुको साथबाट ९५ हजार ५ सय नेपाली रुपैयाँ, मोबाइल १७ थान, क्यासिनो क्वाइन २ सय थान बरामद भएको उनले बताए ।
पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।












