
काठमाडौं । वर्षापछिको बाढी पहिरोले देशका विभिन्न राजमार्ग आज पनि अवरुद्ध भएका छन् । बाढी–पहिरोले मंगलबार अवरुद्ध भएको कान्ती लोकपथसहित केही राजमार्गमा भने पहिरो पन्छाएपछि आज बिहानदेखि गाडी चल्न थालेका प्रहरीले जनाएको छ ।
काभ्रेको नमोबुद्ध नगरपालिका– ६ चौकीडाँडा र रोशी गाउँपालिका ७ घुमाउने, चारसयबेँसी लगायतका ठाउँमा बाढीपहिरोको कारण बीपी राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि बीपी राजमार्गमै पर्ने काभ्रेको खुर्कोट–नेपालथोक सडकमा पनि जोखिमको कारण अहिले प्रहरीले गाडी सञ्चालनमा रोक लगाएको छ ।
त्यसैगरि अबिरल वर्षापछिको बाढीको कारण ईलामको इलाम रोङ गाउँपालिका– ६ सलकपुरमा ङखेप–झापा सडक अवरुद्ध भएको छ ।
मंगलबार ललितपपुरको बागमती नगरपालिका– ३ भालुखोलामा खसेको पहिरो पन्छाएपछि कान्तीलोकपथमा यातायात सुचारु भएको छ ।
त्यसैगरी बाढीको कारण भोजपुरको भोजपुर नगरपालिका–५ बोखिममा अहिले सडक एकतर्फी छ भने ताप्लेजुङको मेरिङदेन गाउँपालिका ५ मा खसेको पहिरो पन्छाएर भित्री सडक खण्डमा यातायात सुचारु गरिएको छ।
त्यसैगरी सिन्धुलीपाल्चोकको भोटेकोशी गाउँपालिका–२ इकुमा सोमबार खसेको पहिरो पन्छाएपछि त्यहाँ पनि अहिले अरनिको राजमार्गमा गाडी सुचारु भएका छन्।
त्यसैगरि म्याग्दीको बेनी जोमसोम सडक र लमजुङमा मध्यपहाडी राजमार्गमा पनि पहिरोको कारण सडक एकतर्फी भएको छ ।
पहिरो पन्छाएर अवरुद्ध सडकमा गाडी सञ्चालनको तयारी जारी रहेको प्रहरीले जनाएको छ । सम्बन्धित निकायबाट जानकारी लिएरमात्रै यात्रामा निस्किन प्रहरीले अनुरोध गरेको छ ।













