Logo
Logo

उद्योग वाणिज्य महासंघमा अहिलेसम्म को-को निर्वाचित भए ?


0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभाअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको अधिकांश पदका नतिजा सार्वजनिक भएको छ । मंगलबार भएको मतदानपछि वस्तुगत, जिल्ला–नगर र एसोसिएटतर्फका प्रमुख पदहरूको टुंगो लागेको हो ।

वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ झिनो अन्तरले विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी शिव घिमिरेलाई मात्र ३ मतले पछि पार्दै ६३ मत प्राप्त गरे भने घिमिरे ६० मतमै सीमित भए। श्रेष्ठलाई निवर्तमान अध्यक्ष चन्द्र ढकाल र घिमिरेलाई वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको समर्थन थियो ।

जिल्ला–नगर उपाध्यक्षतर्फ कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन् । शर्माले ८७ र श्रेष्ठले ८० मत ल्याउँदै प्यानललाई स्पष्ट जित दिलाए । यस पदका अन्य प्रत्याशी उमेश डालमिया र कल्पना गैह्रे पराजित भए । यता, एसोसिएट उपाध्यक्ष पदको नतिजा आउन बाँकी रहँदा प्रबलजंग पाण्डे र ज्योत्स्ना श्रेष्ठबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

एसोसिएट सदस्यतर्फ १७ सिटका लागि भएको प्रतिस्पर्धामा सचिन ढकाल १३१८ मतसहित पहिलो स्थानमा निर्वाचित भए । उनका पछाडि हेमन्त गोल्छा (१२०२), अम्बिका प्रसाद पौडेल (११८३), उज्ज्वल कुमार श्रेष्ठ (११४६) र शक्ति कुमार बेगानी (११४२) रहे।

यसैगरी ऋषि अग्रवाल, राजेश कुमार अग्रवाल, सुयस प्याकुरेल, सुशील थापा, रामशरण भण्डारी, बाबु काजी कार्की, दिवश न्यौपाने, प्रियराज रेग्मी, ईश्वरबहादुर जी.सी., सुरज उप्रेती, कृष्णलाल महर्जन र डा. रामशरण थपलियाले पनि कार्यसमितिमा स्थान सुरक्षित गरेका छन् ।

जिल्ला–नगर खुला सदस्यतर्फ १५ जना निर्वाचित भएका छन्। अर्जुनकुमार श्रेष्ठ, प्रयास कार्की, लक्ष्मणराज पौडेल र छत्रधर आत्रेयसहित कृष्ण कटुवाल, मोहनप्रसाद श्रेष्ठ, सन्तोष खड्का, दीपक नेपाल, केशवप्रसाद भण्डारी, गोकुल श्रेष्ठ, हरिप्रसाद अर्याल, ताराबहादुर कार्की, शंकर गिरी, उज्ज्वलप्रसाद कसजु र सुदर्शन कार्की विजयी भएका छन् । महिला सदस्यतर्फ गीता अमात्य र हीरा भट्टराई निर्वाचित भएका छन् ।

वस्तुगत सदस्यतर्फ १३ जना निर्वाचित हुँदा अरनिको राजभण्डारी ७० मतसहित शीर्ष स्थानमा रहे । अन्य विजेतामा विदुर धमला, सागर ढकाल, रविन पुरी, राजकुमार कार्की, पशुपति देव पाण्डे, लिलेन्द्र प्रधान, भक्तबहादुर हमाल, नानिराज घिमिरे, संघर्ष विष्ट र होमप्रसाद घिमिरे रहेका छन्। यसै समूहको महिला सदस्यमा सुनिता न्हेम्हाफुकी ५४ मतसहित विजयी भइन्, उनले कमला श्रेष्ठलाई पराजित गरिन्।

प्रतिक्रिया दिनुहोस्