
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान खड्का निवास गल्फुटारमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटमा तीन नेताबीच कांग्रेस एकतालगायतका विषयमा छलफल भएको बताइएको छ ।
सर्वोच्च अदालतबाट वैशाख ४ मा कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद निरूपण भएपछि सभापति थापाले वैशाख ६ गते खड्कालाई भेटेका थिए । यस्तै वैशाख १५ मा सभापति थापा र नेता रमेश लेखकबीच भेटवार्ता भएको थियो ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट कांग्रेसका नेता तथा कार्यकर्ता विभाजित छन् । सभापति थापाले विशेष महाधिवेशनको विपक्षमा उभिएका नेतालाई समेटेर लैजान संवाद अगाडि बढाएको जनाएका छन् ।
मंगलबार थापाले नेता डा. शेखर कोइरालासँग उनको विशालनगरस्थित सम्पर्क कार्यालयमा पार्टी एकता कायम राख्ने विषयमा एक घण्टा छलफल गरेका थिए ।












