
काठमाडौं । सङ्घीय संसदको आगामी बजेट अधिवेशन (वर्षे अधिवेशन) आगामी वैशाख २८ गतेका लागि आह्वान गरिएको छ ।
संसद सचिवालयले अधिवेशनका लागि आवश्यक व्यवस्थापकीय तयारी पूरा भएको जनाएको छ । सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार नयाँ संसदबाट बजेट भाषणको कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ ।
नयाँ संसद भवन निर्माण सम्पन्न नभइसकेको भएपनि निर्माण पक्षले जेठ १५ सम्म प्रतिनिधि सभाको सभा कक्ष उपलब्ध गराउन सकिने गरी काम भइरहेको जानकारी दिए । सिट व्यवस्थापन चुनौतीपूर्ण नरहेको र फ्लोरिङको काम सकिनेबित्तिकै आन्तरिक व्यवस्थापन मिलाइने सचिवालयले जनाएको छ ।
प्रवक्ता गिरीले भने, ‘नयाँ भवनको बाहिरी संरचना (स्काफोल्डिङ) हटाउने काम भइसकेको छ । हाल आन्तरिक सजावट र प्राविधिक पक्षको काम बाँकी छ । निर्माण पक्षले जेठ १५ सम्म प्रतिनिधि सभाको हल उपलब्ध गराउन सकिने मौखिक जानकारी दिएकाले संयुक्त बैठक नयाँ हलमै सञ्चालन गर्ने हाम्रो अपेक्षा छ ।’
बजेट अधिवेशन भएकाले यस सत्रमा सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट मुख्य कार्यसूची रहनेछन् । बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) माथि छलफल हुनेछ । त्यसपछि राष्ट्रपतिबाट सङ्घीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रश्तुत हुने संवैधानिक व्यवस्था छ ।
यसबाहेक विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकहरूलाई यो अधिवेशनले प्राथमिकता दिनेछ । बजेटसँग सम्बन्धित बाहेक अन्य विधेयक र अध्यादेशहरूलाई पनि आवश्यकताअनुसार अगाडि बढाइने प्रवक्ता गिरीले जानकारी दिए ।
अधिवेशनको पहिलो बैठकमा पेश हुने अध्यादेशहरूलाई ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत कानून बनाउनुपर्ने संवैधानिक बाध्यता छ । सो अवधिभित्र प्रतिस्थापन विधेयक पारित नभएमा अध्यादेश स्वतः निष्क्रिय हुनेछन् ।
सचिवालयकाअनुसार हाल प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितका तीनवटा विधेयक र वैकल्पिक वित्त व्यवस्थापनसँग सम्बन्धित एक विधेयक विचाराधीन छन् ।
यस्तै, राष्ट्रिय सभामा अभौतिक सम्पदासँग सम्बन्धित विधेयक र विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू कार्यसूचीमा रहेका छन् । प्रतिनिधि सभातर्फ नियमावली मस्यौदा समितिको प्रतिवेदन पनि यो अधिवेशनको कार्यभारको रूपमा रहेको प्रवक्ता गिरीले बताए ।












