Logo
Logo

प्रहरीको गोली लागेका न्यौपानेको मृत्यु


- दृष्टि न्युज/संवाददाता


महोत्तरी, १० मंसिर । प्रहरीको गोली लागेर घाइते भएका महोत्तरीको बर्दिबासका बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ । उनकोे काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको मृतकका भतिज सौगात न्यौपाने बताए ।
६ वर्षीया बालिका गुलाब साह खातुनको निर्मम हत्या गर्ने दोषीलाई कडा कारवाहीको माग गर्दै भएको आन्दोलनमा भीड नियन्त्रण गर्न मंगलबार प्रहरीले गोली चलाउँदा उनको तीघ्रामा गोली लागेका थियो । उनको बर्दिबासस्थित पिनाकल हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको थियो । उपचारका क्रममा राति १ बजे उनको मृत्यु भएको भतिज सौगातले जानकारी दिएका हुन् ।
अत्यधिक रक्तश्राव भएर उनको मृत्यु भएको बताइएका छ । गोली लागेर घाइते भएका अर्का श्याम कार्कीको काठमाडौंमै उपचार भइरहेको छ । प्रदर्शनमा टाउको फुटेका अफताम आलमको बर्दिबासमा उपचार हुँदैछ ।
आइतबार साँझ गाउँबाटै बेपत्ता भएकी महोत्तरीको बर्दिबास–१४ शुभम् बस्तीकी गुलाबको शव सोमबार मध्यरातमा उनको घरनजिकैको झाडीमा बोरोमा राखेर फालिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चपागाईंले बताए ।
घटनालाई लिएर मंगलबार दिनभर बर्दिबासमा स्थानीयले प्रदर्शन गरेका थिए । राजमार्गमा शव प्रदर्शन गर्ने क्रममा बर्दिबासस्थित भोला बसन्त चोकमा रहेको प्रहरी बिटमा आन्दोलनकारीले ढुङ्गामुढा र आगजनी गरेपछि प्रहरीले भीड तितरवितर गर्न हवाईफाएर गरिएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्