काठमाडौं । सरकारले आगामी वैशाख २८ गते सोमबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उक्त सम्बोधन कार्यक्रममा उपस्थितिका लागि सङ्घीय संसद्का सबै सदस्यहरूलाई आह्वान गर्नसमेत राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय गरिएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने संवैधानिक व्यवस्था तथा अभ्यास रहिआएको छ ।












