Logo
Logo

काठमाडौं प्रहरीको प्रमुखमा किन हुन्छ सधैं चलखेल ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० मंसिर ।
गत शुक्रबार नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा भयो । जसमा सबैको चासो काठमाडौं परिसरको सरुवामा थियो । परिसरबाट सात महिनामै एसएसपी श्याम ज्ञवालीलाई हटाएर अशोक सिंहलाई पठाइएको छ ।


एसएसपी ज्ञवाली कुनै विवादमा परेर हटाइएको होइन, चलखेलका कारण यसपटक काठमाडौं इन्चार्ज फेरिएका छन् । ज्ञवाली राजनीतिक नेतृत्वको सिफारिस नभई आफ्नै दाई तथा तत्कालिन आईजिपी ठाकुर ज्ञवालीका कारण परिसर गएका थिए । उनीबाट विभिन्न शक्तिकेन्द्रहरु खुशी हुन सकेका थिएनन् । एसएसपी सिंह बढुवा भएलगत्तै काठमाडौं परिसर जान चाहेका थिए । शक्तिकेन्द्रहरुसँगको साँठगाँठमा सात महिनापछि उनी आफ्नो मिशनमा सफल भएका छन् ।

यसरी अस्वभाविक रुपमा काठमाडौं इन्चार्ज फेरिएको यो पहिलो घटना होइन । काठमाडौं प्रहरी परिसरमा ११ वर्षमा १९ जनाले नेतृत्व सम्हालेका छन् । २०६६ सालमा काठमाडौं प्रहरी प्रमुखमा एसपी गणेश केसी थिए । एक भूमिगत संगठनका प्रमुखलाई आर्थिक चलखेलका आधारमा छुटाएको खुलेपछि कारबाही स्वरुप उनी हटाइएका थिए । त्यसपछि काठमाडौंमा रमेश खरेलको इन्ट्री भयो । २०६७ वैशाख १२ गते तत्कालीन एसपी रमेश खरेल काठमाडौं प्रहरी प्रमुख बनेका थिए । उनी एक वर्ष अवधि काम गर्न पाएनन् । बढुवामा अन्तसुष्टि जनाउँदै एक महिना बिदामा बसेकै बेला उनको सरुवा भयो ।

त्यसपछि काठमाडौं परिसरमा एसपी पुष्कर कार्कीले नेतृत्व सम्हाले । तर, परिसरको इन्चार्ज उनका लागि ‘अनलक्की’ भयो । एकपछि अर्काे आपराधिक घटना बढेपछि उनको करिब चार महिनामा सरुवा भयो ।

कार्कीपछि परिसरमा केदार रिजालको सरुवा भयो । उनले पनि पुरै कार्यकाल काम गर्न पाएनन् । २०६८ वैशाख १७ गते काठमाडौंको इन्चार्ज भएका उनी असोज १० गते हटाइयो । तत्कालिन गृहमन्त्री बिजयकुमार गच्छेदारले रिजाललाई हटाएका थिए । रिजालले गच्छेदारका निकट डन गणेश लामालाई थुनेकाले गच्छेदारले हटाएर आफु निकट राजेन्द्र श्रेष्ठलाई परिसर लगे । २०६८ असोज ११ गते काठमाडौं प्रहरी प्रमुख भएका राजेन्द्र श्रेष्ठ एसएसपीमा बढुवा भएपछि पनि काठमाडौंमै बसे । केही विवादका बाबजुत उनले पुरै अवधि काम गर्न पाए ।

त्यसपछि काठमाडौं परिसरमा एसएसपी पठाउन थालियो । एसएसपीका रुपमा जयबहादुर चन्द, रणबहादुर बम र सुवोध घिमिरे नेतृत्व सम्हाले । रणबहादुर चन्द त कारबाही स्वरुप हटाइएका थिए । त्यसपछि फेरि उपेन्द्रकान्त अर्यालले रमेश खरेललाई नै काठमाडौं परिसर पठाए । दोस्रोपटक उनले राम्रो काम गरे, तर त्यहीबीचमा यूएन मिसनमा छनोट भएपछि उनले पाँच महिना मात्र काम गरे । त्यसपछि परिसरको नेतृत्व सम्हालेका उत्तम कार्की र बिक्रमसिंह थापाले पुरै अवधि काम गरे, तर कार्यकाल मध्यम रह्यो । एसएसपी थापाले परिसरबाटै अवकाश पाएपछि छविलाल जोशी चलखेलका आधारमा परिसरमा सरुवा भए । उनलाई सात महिनापछि हटाइयो ।

त्यसपछि सरुवा भएका रबिन्द्र धानुक ५ महिना मात्र टिके । नवराज सिलवाल प्रकरणमा सिलवाललाई सहयोग गर्न खोजेपछि उनको पाँच महिनामा नै सरुवा भएको थियो । सिलवाललाई मुद्दा दायर गर्ने उदेश्यले विश्वराज पोखरेललाई परिसर लगियो । उनी पनि ६ महिना मात्र टिके । त्यसपछि वसन्तकुमार लामाले ९ महिना र उत्तमराज सुवेदीले एक वर्ष काम गरे । सुवेदी डिआईजीमा बढुवा भएपछि ज्ञवालीलाई गत बैशाखमा परिसरको जिम्मेवारी दिइएको थियो । उनको सात महिनामै सरुवा भएको छ ।

काठमाडौं परिसरको प्रमुखमा ठूला शक्तिकेन्द्रको स्वार्थ जोडिएको हुन्छ । आफ्ना व्यक्तिहरुलाई जोगाउन तथा अरुलाई फसाउन काठमाडौंका प्रहरी इन्चार्जको प्रयोग हुन्छ । तर, अवैध धन्दाको गिरोह चलाउनेले समेत माथिल्लो निकायमा चलखेल गरेर आफु निकटलाई ल्याउन प्रयास गर्दछन् । अहिले पनि त्यस्तै गिरोहले काठमाडौं इन्चार्ज सरुवा गरेको स्रोत बताउँछ । यो सरुवामा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री समेत खुशी छैनन् । यसले प्रहरी नेतृत्वलाई कम हुँदै गएको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्